आठराईको अध्यक्ष र उपाध्यक्षका प्रतिस्पर्धीबीचको सौहार्दता र हार्दिकता, मतदानस्थलमै फोटो सेसन

तेह्रथुम, ३१ बैशाख । आठराई गाउँपालिकामा मुलुकभरका अन्य पालिकाजस्तै यहाँ पनि स्थानीय तहको निर्वाचन भएको छ ।

खासगरी आठराईमा पाँचदलीय गठबन्धन र नेकपा एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने निश्चय नै छ ।

एमालेलाई आठराईमा आफ्नो बिरासत जोगान चुनौति छ भने काँग्रेससहितको पाँचदलीय गठबन्धनलाई राष्ष्ट्रिय रुपमा प्रतिगामीको विल्ला भिराइएको एमाले अध्यक्ष ओलीको खिलापमा बनेको गठबन्धनको मर्मलाई साकार पार्दै नयाँ नेतृत्व स्थापित गर्नुपर्ने छ ।

यद्यपि आठराईमा शुक्रबार सौहार्दतापूर्वक मतदान सम्पन्न भएको छ । यसमा आठराईको नयाँ नेतृत्वका लागि चुनावी मैदनमा रहेका अध्यक्षको मुख्य दावेदार एमालेको  उम्मेदवार रामचन्द्र थपलिया र गठबन्धनको नेतृत्व गरेर अध्यक्षका लागि चुनावी मैदानमा रहेका काँग्रेसका नेता दिलकुमार पाहिमले मतदानस्थलमै सँगै फोटो खिचेर सौहार्दता प्रकट गरेका छन् ।

त्यस्तै निर्वातमान आठराई गाउँपालिका उपाध्यक्षसमेत रहेकी उपाध्यक्षकी उम्मेदवार रुपा कन्दङ्वा एमाले र गठबन्धनको तर्फबाट उपाध्यक्षका उम्मेदवार वलिराज इङ्नामले पनि मतदानस्थलमै सँगै तस्बीर खिच्दै सामाजिक संजालमा पोष्ट गरेर सौहार्दता र हार्दिकता प्रकट गरेका छन् ।

उनीहरुले राजनीतिलाई प्रतिस्पर्धा भन्दा पनि सहकार्यको एक आधार भन्ने पुष्ट्याउन खोजेका छन् । यसआधारमा जनतामाझ जो जस्ले जितेपनि विकास र समृद्धिका लागि पार्टीगत रुपमा विभक्त हुनुभन्दा एकताका साथ अघि बढ्नुपर्ने सन्देश दिएको छ ।

आठराईबासी दशकौँ पहिल्यौबाट सभ्य र शिक्षित भनि नेपालभर नै कहलिएको इतिहासलाई अझ प्रवद्र्धन गरेको देखिएको छ ।