काठमाडौं, २१ मंसिर। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफूलाई सघाउन कोर टिम बनाएका छन् । उनले पार्टीभित्रै सहयोग जुटाउनुका लागि ५ नेतालाई समेटेर कोर टिम बनाएका हुन् ।
उनले आफ्नो विश्वास पात्र भन्दै समेटेको टिमममा सुवास नेम्वाङ भने छैनन् । नेम्वाङ यसअघि ओलीका अतिविश्वास पात्रका रुपमा रहेका थिए । तर यो कोर टिममका नेम्वाङ छैनन् ।
दोस्रो पटक अध्यक्षमा निर्वाचित भएका ओलीले सहयोगी टीममा उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिवहरु प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल छन्।
यसमा ओलीले कानुनी र राजनीति दुवै विषयमा विज्ञ रहेका नेम्वाङलाई समावेश नगरेपनि सल्लाह गर्ने ठाउँ भने राखेको नेताहरुको भनाइ छ । पार्टीका विभिन्न निर्णयहरुमा ओलीले नेम्वाङसहित वरिष्ठ उपाध्यक्ष इश्वर पोखरलेसँग पनि सल्लाह गर्नेछन् । तर अन्तिम निर्णय भने कोर टिमबाट नै हुने ती नेतको भनाइ छ ।
यसअघि एमालेको केन्द्रीय कमिटी सदस्य छनौँटका क्रममा पनि यही टिमका सदस्यहरुको भूमिकाले नै चयन भएको स्रोत बताउँछ । ओलीले पार्टीका विभिन्न कमिटीका बैठकहरु चाँडै बोलाउँदैछन् । सोको तयारी स्वरुप उनले यो गृहकार्य थालेको नेताहरुको भनाइ छ ।
अध्यक्ष ओलीले अन्य सञ्चार, आर्थिक, विषयगत विषयका विज्ञहरुको पनि टीम बनाउन लागेको स्रोतको भनाइ छ । ती टीम तथा विज्ञहरुको समूहले ओलीलाई निर्णयका लागि सल्लाह तथा सहयोग गर्नेछन् । ओलीले यही मंसिर २५ गते केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । उक्त बैठकबाटै ओलीले नेताहरुलाई कार्यविभाजनको जिम्मा दिनेछन् ।