तेह्रथुम, ४ जेठ । स्थानीय तह निर्वाचन २०७९ मा आठराई गाउँपालिकाका निवर्तमान अध्यक्ष मानबहादुर लिम्बु वडा सदस्यमा पराजित भएका छन् ।
स्थानीय तह निर्वाचन २०७४ मा ३ हजार ८ सय ७४ मत ल्याएर नेकपा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका लिम्बु यस पटकको निर्वाचनमा भने वडा सदस्यमा पराजित भएका हुन् ।
गाउँपालिका अध्यक्ष पदबाट राजीनामा दिएर ७ नम्वर वडामा एकीकृत समाजवादीको तर्फबाट खुल्ला वडा सदस्य पदमा उम्मेदवारी दिएका लिम्बुले ३ सय ३९ मत प्राप्त गरेका छन् ।
उनी वडा सदस्यमा जितेर जिल्ला समन्वय अध्यक्षमा जाने लक्ष्यका साथ चुनावमा भिडेको थिए । तर उनले वडा सदस्यमै पराजय भोग्नु परेको हो ।
उनी नेकपा एमाले विभाजन हुँदा माधव नेपालको पार्टी नेकपा एसमा लागेका थिए । उनी जिल्लाकै चर्चित नेताको रुपमासमेत चिनिन्थे । एमाले जिल्ला कमिटी तेह्रथुमको जिम्मेवारी सम्हालेका नेता हुन् लिम्बू ।