काठमार्डौ, ९ जेठ । नेकपा (एकीकृत समाजवादी)को तर्फबाट काठमाडौं महानगरका उपमेयरको पदमा उम्मेदवारी दिएका रामेश्वर श्रेष्ठले रुख र कलम चिन्द दुवैमा स्वस्तिक चिन्ह लागेका मतलाई आफ्नो मत हुनुपर्ने भन्दै निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका छन् ।
साथै उनले काठमाडौं महानगरको मतगणना पुन गरिनुपर्ने मागसमेत राखेका छन् ।
‘उम्मेदवार नभएको निर्वाचन चिन्हमा मात्र मत संकेत गरिएको मतपत्रलाई सो पदको हदसम्म मात्र बदर गर्नुपर्नेमा प्रतिष्पर्धी उम्मेदवार नै नभएका कलम र रूख चिन्हमा मतसंकेत भए पनि म उम्मेदवार भएको कलम चिन्हको मतसंकेतलाई समेत बदर गरी गणना गरेको र यसबाट मतपरिणाममा असर परी, उपविजेता हुने उम्मेदवारले जित्ने र जित्ने उम्मेदवारले हार्ने अवस्थाको गणितीय अवस्था देखापरेको छ । तसर्थ स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १७, १९, २२, २४ र २६ को भावना र मनसाय अनुसार हुनेगरी प्रतिस्पर्धी उम्मेदवार नै नभएका कलम र रूख चिन्हमा मत संकेत भएका मतपत्रमा म उम्मेदवार भएको कलम चिन्हको मत संकेतलाई सदर मानी स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५२ बमोजिम तत्काल दोहोर्याइ मतगणना गरी गणना हुन बाँकी मतपत्र समेत यसै कानुनी आधारमा गणना हुन मतदान (मतगणना) अधिकृतलाई आदेश गरिपाऊँ,’ श्रेष्ठले निवेदनमा भनेका छन् ।
केहिदिन अघि देखि नै काठमाडौं महानगरमा धेरै मत बदर भएको समाचारहरु बाहिरिएको थियो ।
अहिले उपमेयरका पदमा उम्मेदवारी दिएकी एमालेकी सुनिता डंगोल अत्याधिक मतका साथ अघि छिन् ।