पूर्वमन्त्री नेम्वाङको गृहजिल्लामा एमालेको आकर्षण, ६ हजार भोट बढ्यो

फिदिम, १९ जेठ । पाँचथर जिल्लामा नेकपा एमालेको आकर्षण बढेको छ । अघिल्लो चरणको स्थानीय तहको निर्वाचन २०७४ मा भन्दा यो वर्ष पाँचथर जिल्लामा मात्रै करिब ६ हजार एमालेमा मतदाता थपिएका हुन् ।

भर्खरै सम्पन्न २०७९ को स्थानीय तहको निर्वाचनमा आंशिक रुपमा मात्रै गठबन्धन गरेको नेकपा ९एमाले०ले पाँचथरमा अघिल्लो स्थानीय निर्वाचनपछि झण्डै ६ हजार मत बढाएको तथ्याङ्कले देखाएको हो।

जिल्लाको सात स्थानीय तहको अध्यक्षका उम्मेद्वारले गत स्थानीय निर्वाचनमा पाएको मतभन्दा अहिले ५८२९ मत बढी आएको तथ्याङ्कले देखाएको छ ।

जसमध्ये पूर्णतः राप्रपासँग तालमेल भएको फिदिम नगरपालिकाको प्रमुख पद तथा र जसपासँग आंशिक तालमेल भएको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष पदमा एमालेले राप्रपा र जसपाको केही मत पाएको छ ।

यो मतलाई घटाउँदा समेत एमालेले झण्डै ६ हजार मत बढाएको पाइएको हो । यद्यपि पाँचथरमा एमालेले एक गाउँपालिका अध्यक्ष र दुई उपाध्यक्ष मात्रै जित्न सफल भएको छ ।

०७४ को निर्वाचनमा याङवरकमा एमालेका अध्यक्षका उम्मेदवार लेखनाथ घिमिरेले ३७४८ मत प्राप्त गर्दै विजयी हुनुभएको थियो ।

हालै सम्पन्न निर्वाचनमा एमालेका उम्मेदवार सुवास योङ्याले ४११८ मत पाउनु भएको छ । जुन घिमिरेले पाएकोभन्दा ३७० बढी हो ।

हिलिहाङ गाउँपालिकाको अध्यक्ष पदमा भुवानीप्रसाद लिङदेनले ०७४ मा ४१६९ मत पाउनु भएको थियो । यस पटक उहाँले ४३५८ मत पाउनु भएको छ । लिङदेनको मत १८९ बढेपनि जितका लागि पर्‍याप्त भएन ।

जिल्लाको फालेलुङ गाउँपालिकामा एमालेको मत ०७४ को भन्दा घटेको पाइएको छ । यहाँ एमालेको ठूलो हिस्सा एकीकृत समाजवादीमा समाहित हुँदा समेत एमालेको मत भने १४१ मात्रै घटेको छ । अघिल्लो निर्वाचनमा अध्यक्ष पदमा एमालेका कमलप्रसाद जबेगूले २७६२ मत पाउनु भएकामा यस पटक अध्यक्ष पदमा जयप्रकाश केरुङले २६२१ मत पाउनु भएको छ ।

पाँचथरको फिदिम र फाल्गुनन्दमा भने एमालेले आश्चार्यजनक रुपमा मत वृद्धि गरेको छ । ०७४ मा फिदिम नगर प्रमुखका एमाले उम्मेदवार राजकुमार भण्डारीले ५४९९ मत प्राप्त गर्नुभएको थियो । यस पटक जसपाको एउटा समूह र राप्रपा समेतको सहयोगमा एमालेका उम्मेदवार पृथ्वी लावतीले फिदिमको नगर प्रमुखमा ९२८० मत पाउनुभएको छ ।

जुन ०७४ को मत भन्दा ३७८१ बढी हो । ०७४ मा फिदिमको नगर प्रमुखमा राप्रपाले ७१० मत र जसपाले २६४ मत पाएका थिए ।
उक्त मत र औषतमा ती पार्टीको वृद्धि हुने मत घटाउँदा समेत फिदिममा एमालेले करीब २५०० मत वृद्धि गरेको देखिएको छ ।

फाल्गुनन्दमा समेत एमालेले जसपाको एउटा समूहको सहयोगमा आकर्षक मत वृद्धि गरेको छ । ०७४ मा फाल्गुनन्दको अध्यक्षमा एमाले उम्मेदवार वीरबहादुर कुरुम्बाङले ३३६७ मत पाउनु भएको थियो भने जसपाले ४९० मत पाएको थियो । यस पटक जसपाको सहयोगमा कुरुम्बाङले ४६४३ मत पाउनुभयो ।

जुन अघिल्लो निर्वाचनको भन्दा १२७६ बढी हो । जसपाभित्रको आन्तरिक द्वन्द्व र केन्द्रीय सर्कुलरका कारण फाल्गुनन्दको जसपाको सबै मत कुरुम्बाङले नपाएको चर्चा छ ।

यहाँ जसपाको ४९० मत वृद्धि भई ६०० बढी हुँदा समेत एमाले एक्लैले ६०० बढी मत वृद्धि गरेको देखिन्छ ।

एमालेको गढ मानिने कुम्मायकको अध्यक्षमा भने एमालेको मत घटेको छ । अघिल्लो निर्वाचनमा एमालेका जयबहादुर चेम्जोङले यहाँ ३२२६ मत पाउनु भएको थियो । तर यस पटक एमालेका भीमप्रसाद सम्बाहाम्फेले २९०० मत पाउनुभयो । जुन अघिल्लोभन्दा ३२६ कम हो ।

तुम्बेवा गाउँपालिकामा भने अघिल्लो निर्वाचनमा एमाले र माओवादी केन्द्रवीच तालमेल भएको र यस पटक एमालेले जसपा र राप्रपासँग सहकार्य गरेकाले मत घटबढको तथ्याङ्क यकिन हुन सकेको छैन् । अघिल्लो निर्वाचनमा एमालेले यहाँ उपाध्यक्ष जितेको भएपनि माओवादी समेतको साथ रहेको थियो ।

निकै कमजोर देखिएपनि जिल्लाको दक्षिणी मिक्लाजुङमा एमालेले आकर्षक मत वृद्धि गरेको छ । अघिल्लो निर्वाचनमा यहाँ एमालेका अध्यक्षका उम्मेदवार धनकुमार फियाकले ३२९६ मत पाउनुभएको थियो । यस निर्वाचनमा एमालेका नरेन्द्रकुमार बस्नेतले ४०२६ मत पाउनुभयो । जुन अघिल्लोभन्दा ७३० मत बढी हो ।

जिल्लाका केही सिमित बाहेकका स्थानीय तहमा सत्तारुढ दलहरुले गठबन्धन गरेका थिए । जसकारण उनीहरुले कति मत बढाए वा मत घट्यो भने तथ्याङ्क भने समग्र गठबन्धनको मतबाट स्पष्ट हुन्छ ।

यो अघिल्लो केपी ओली नेतृत्को सरकारका सफल र लोकप्रिय मन्त्री वसन्त नेम्वाङको गृहजिल्लासमेत हो । नेम्वाङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हाल्दा उदाहाराणीय काम गरेर चर्चा कमाएका थिए ।

चिन्तन खबर डटकमको सहयोगमा