तेह्रथुम, ११ असार । छथर गाउँपालिकाले खेतीयोग्य जमीन बाँझो राख्न नपाइने नीति लिएको छ ।
अध्यक्ष सन्तवीर लिम्बूले गाउँसभाको शुक्रबारको बैठकमा आगामी आर्थिक वर्ष २०७९\०८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका क्षेत्रको जग्गा बाँझो राख्न नपाइने नीति अघि सारेका हुन् ।
उनले गाउँपालिकाको जग्गा बाँझो राख्न नपाउने, सबै जग्गाधनी आफैँले उत्पादन गर्नुपर्ने, यदि सम्बन्धित जग्गाधनीले नै खेती नगरे त्यस्तो जग्गा पालिकालाई करार गरेर दिनुपर्ने र त्यस्तो जमीनमा पालिका आफैँले उत्पादनमुलक खेती लगाउने नीति अघि सारिएको बताए ।
उनले गाउँपालिकालाई कृषि उत्पादनको हब बनाउने गरी यस्तो योजना अघि सारिएको बताए । त्यस्तै, गाउँपालिकाले पालिकामै कृषि सामाग्री केन्द्र स्थापना गर्ने भएको छ । कृषि उत्पादनमै जोड दिन गाउँपालिकाले ‘एक घर एक करेसाबारी कार्यक्रम’ अघि सारेको छ ।
गाउँपालिका क्षेत्रमा जंगली जनावरहरुले दुख दिएका कारण किसानले खेती बाली लगाउन समस्या हुने बताउँदै आएका छन् ।
गाउँपालिका अध्यक्ष लिम्बूले कुनै पनि जंगली जनावारबाट किसानले लगाएको बाली बचाउन विप्पन्न वर्ग पालिका स्वरोजगार कार्यक्रम लागू गरिने बताए ।
‘जहाँ जंगली जनावरले दुख दिन्छ, त्यस्तो ठाउँमा जंगली जनावरबाट बाली जोगाउनका लागि त्यहाँका विपन्न परिवारलाई पालिकाले रोजगारी दिन्छ, त्यसले बालीमात्रै जोगिदैन, स्थानीयले रोजगारी पनि पाउँछन्,’ उनले भने ।
गाउँपालिकाले एक वडा एक कृषिरपशु प्राविधिक परिचालन गर्ने र गाउँपालिकामै पशु अस्पताल समेत सन्चालनमा ल्याउने नीति सार्वजनिक गरेको छ । यस क्षेत्रमा व्यवसायिक गाईपालन हुँदै आएको छ ।
अध्यक्ष लिम्बूका अनुसार गाउँपालिकाले भुमिहिनहरूलाई निस्शुल्क जग्गा प्रदान गर्ने, भोगचलनमा रहेका ऐलेनी जग्गाहरूमा र अब्यवस्थित बसोबास गर्ने नागरीकहरूलाई भोगचलनको निस्सा प्रदान गर्नेछ ।
गाउँपालिकाले माध्यमिक तहका छात्ररछात्राहरुलाई सीपमुलक तालिम प्रदान गर्ने भएको छ ।
त्यस्तै, एकल पुरुषहरुलाई मासिक एक हजार रुपैयाँ भत्ता दिने, पालिकामै युवा परिषद् गठन गर्ने, दलित आदिवासी, जनजातिका मुद्दा सम्बोधन गर्न आयोग गठन गर्ने नीति लिएको छ ।
त्यस्तै, चार\चार महिनामा घरमै पुगेर ज्येष्ठ नागरिकहरुको स्वास्थ्य उपचार गर्ने अभियान सन्चालन गर्ने भएको छ ।
गाउँपालिकाले सबै स्वास्थ्य संस्थामा निशुल्क सुगर जाँच, लौरो उपचार कार्यक्रम र दन्त उपहार कार्यक्रमलाई निरन्तरता दिएको छ ।
त्यस्तै, हरेक टोलमा खानेपानीको सुविधा पुर्याउने, सिधुवा-शुक्रबारे सडक कालोपत्रेको काम पूरा गर्ने र गाउँपालिका क्षेत्रमा कम्तिमा वडाको केन्द्रसम्म जोडिने सडकहरुलाई अलवेदर गर्ने काम आगामी आर्थिक वर्षभित्र पूरा गर्ने अध्यक्ष लिम्बूले बताए ।
उनले दुग्ध उत्पादन, अकबरे, बाख्रा, फलफुल, तरकारी, उत्पादनमा प्रवर्दन, गाई, बाख्रा, बंगुर, लोकल कुखुराको लागि स्रोत केन्द्रकोरुपमा विकास गर्ने बताए ।
स्थानीय उत्पादनकोरुपमा रहेको ढाका कपडालाई गाउँपालिकाले ड्रेस कोड तोकेको छ ।
पालिकाले आफ्नो क्षेत्रका सबै विद्यालयमा कक्षा–१० सम्म सबै विद्यार्थीले ढाकाको सर्ट लगाउनुपर्ने निर्णय गरेको हो ।
हाम्राे सवाल डटकमबाट साभार