काठमाडौं । नेकपा एकीकृत समाजवादीले ४ केन्द्रीय सदस्यलाई बर्खास्त गरेको छ ।
स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको भन्दै विभिन्न प्रदेशका ४ नेताहरुलाई कारवाही गरेको हो ।
काठमाडौंको बबरमहलस्थित कार्की बाङक्वेटमा केही दिनदेखि केन्द्रीय कमिटीको चौथो बैठक जारी छ । उक्त बैठकमा स्थानीय कमिटी र जिल्ला कमिटीको सिफारिस भएको आधारमा ४ केन्द्रीय सदस्यलाई पदबाट हाटाइएको हो ।
बर्खास्त हुनेमा झापाका लोकबन्धु कन्दङ्वा, दैलेखका तर्कबहादुर शाही, मुगुका राज्यलक्ष्मी बम मल्ला र डोटीका नारद मलासी रहेका छन् ।
कारवाहीपछि रिक्त केन्द्रीय सदस्य पदमा समाजवादी पार्टीले कपिलदेव पट्टेल, पिताम्बर तिम्सिना, तोलाराज विष्ट र शंकर कुँवरलाई मनोनित गरेको छ ।
यसअघि कारवाहीमा परेका केन्द्रीय सदस्यहरुले पार्टी निर्धारित अवधारणा अनुसार नचलेको भन्दै पार्टीमा नरहने घोषणा गरेका थिए ।