तेह्रथुम, २८ असार । तेह्रथुमको म्याङलुङमा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको म्याङलुङ नगरपालिका वडा नम्बर ६ मा अन्दाजी ५५ वर्षका एक पुरुष मृत फेला परेका हुन् ।
उक्त व्यक्तिको शव शनिबार म्याङलुङ ६ स्थित एक पुरानो घरमा फेला परेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
उक्त शव भेटिएको पुरानो घर स्थानीय केशव प्रसाद रेग्मीको भएको बताइएको छ । तर ती मृत व्यक्ति जिल्ला बाहिरको भएको हुनसक्ने अनुमान स्थानीयको छ ।
स्थानीयका अनुसार ती मृत व्यक्ति तराई मुलकाजस्ता देखिन्छन् । केही समय अघि देखि म्याङलुङ बजारमा राजेश भन्ने गरिएको विभिन्न स्थानमा काम गर्दै आएका व्यक्ति जस्तै भएको स्थानीयले प्रहरीमा खबर गरेका छन् ।
प्रहरीलाई खबर प्राप्त भएसँगै घटनास्थलमा पुगेर शवको मुचुल्का उठाइएको र पोष्टमार्टमका लागि जिल्ला अस्पताल तेह्रथुम लगिएको प्रहरी निरीक्षक फिन्जो भोटेले बताउनुभयो ।
हालसम्म मृतकको आफन्त सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।
मृतकका आफन्त सम्पर्कमा नआएपछि जिल्ला प्रहरी कार्यालय तेह्रथुमले नै शवलाई पहिचान होस भन्ने हेतुले शवको तस्बीर सार्वजनिक गरेको हो ।