याक्थुङ युवा मञ्चको आयोजनामा ‘सिसेक्पा कप फुटसल प्रतियोगिता’ आयोजना हुँदै

काठमाडौं, ३१ असार । याक्थुङ युवा मञ्च जिल्ला कार्यसमिति काठमाडौंले सिसेक्पा कप फुटसल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

प्रतियोगिता यही साउन ७ र ८ गते शान्तिनगर फुटसल मैदानमा सम्पन्न हुने मञ्चकी अध्यक्ष संगीता सुहाङले जानकारी दिइन् ।

आयोजक याक्थुङ युवा मञ्चले आफ्नो टीमलाई सहभागी गराएर खेलको शोभा बढाइदिन पनि आग्रह गरेको छ ।

मञ्चले आयोजना गर्ने विविध कार्यक्रममध्ये युवाहरुलाई लक्षित खेलकुद कार्यक्रम सिसेक्पा कप फुटसल पनि एक भएको अधयक्ष सुहाङले बताइन् ।

‘यसअघि पनि २ वटा संस्करण पूरा गरिसकेका छौँ। अगामी तेस्रो संस्करण को लागि मिति २०७९ साल श्रावण ७ र ८ गते सम्पन्न गर्ने गरि सिसेक्पा कप प्रतियोगिता काठमाडौंमा आयोजना गरिने छ । हामीले युवा लक्षित गरिरहेको कार्यक्रम मध्ये यो पनि एक कार्यक्रम हो,’ अध्यक्ष सुहाङले बताइन् ।

सिसेक्पा तङ्नाम अर्थात लिम्बू भाषामा साउने सक्रान्ति लिम्बूहरुले मनाउने प्रमुख चाड पनि हो । सोही अवसरमा मञ्चले खेलकुदको आयोजना गर्न लागेको हो ।

मञ्चले युवाहरुबीचको भावनात्मक एकता र पारस्पारिक सदभाव, समन्वय, सहयोग तथा मैत्रीपुर्ण समझदारी कायम राख्दै न्याय, समानता, पहिचान, अस्तित्व रक्षा र युवा हकअधिकारको लागि वकालत गर्नुनका साथै युवाको क्षेत्रबाट आफ्नो समुदायको हितमा हुने हरेक गतिबिधि, कृयाकलापहरुमा सक्रियता र कृयाशिल भुमिका निर्वाह गर्ने मञ्चको लक्ष्य रहेको छ ।

प्रतियोगिताको विजेताले नगद ट्रफिसहित ५५ हजार ५ सय ५५ रुपैयाँ, दोस्रोले ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट खेलाडीले नगद ५ हजार प्राप्त गर्नेछन् ।

सहभागी टिमले २ अतिरिक्तसहित ७ खेलाडीको नाम बुझाउनु पर्नेछ । त्यस्तै टीममा ७ मध्ये ४ खेलाडी अनिवार्य लिम्बू समावेश गर्नुपर्ने छ।

खेलकुदमा सहभागीता जनाउनका लागि अध्यक्ष संगीता ९८१४०१०६९० मा सम्पर्क गर्न सकिनेछ ।