यस्तो देखियो काजीमान कन्दङ्वाको सालिक (भिडियो)

  • कृष्ण कन्दङ्वा

तेह्रथुम, १० साउन । आठराई गाउँपालिका ६ चुहानडाँडाको हाटडाँडामा स्व। काजीमान कन्दङ्वाको सालिक स्तम्भमा राखिएको छ ।

राजनीतिज्ञ, साहित्यकार तथा लेखक स्व कन्दङ्वाको सालिक निर्माण कार्य करिब ४ महिनादेखि थालिएको थियो ।

उक्त कार्य निर्धारित समयमै सम्पन्न गरि शनिबार स्थानीय सरोकारवालाहरुको उपस्थितिमा सालिक राखिएको हो ।

आठराई गाउँपालिका तथा वडा ६ चुहानडाँडाको करिब २० लाख सहयोगमा सालिक निर्माण कार्य अघि बढाइएको थियो ।

सालिक राख्ने ठाउँको कार्य सम्पन्न भएकाले मंगलबार सालिक राखिएको वडा ६ का वडा सदस्य ओमकुमार कन्दङ्वाले बताउनुभयो ।

अब सालिकको चारैतिर बगैचा निर्माणका साथै फिनिसिङको काम बाँकी रहेको सदस्य कन्दङ्वाले बताए । सालिक निर्माणका लागि २० लाख सहयोग प्राप्त भएको र सम्पूर्ण कार्य सम्पन्न भइन्जेलसम्म करिब २३ लाख खर्च हुने अनुमान गरिएको छ ।

सालिक राख्ने कार्यक्रममा वडा ६ का पूर्व अध्यक्ष तेजप्रसाद कन्दङ्वाका साथै विभिन्न पार्टीका स्थानीय नेताहरुको सहभागीता रहेको जनाइएको छ ।

सालिक अनावरण कार्यक्रम भने सम्पूर्ण कार्य सकिएपछि करिब भदौ महिनातिर मात्रै हुने कन्दङ्वाले बताउनुभयो ।

तस्बीर : वीरेन्द्र कन्दङ्वा