जापानमा प्रचण्डको तथ्यहीन दाबी: आबे नेपाल आएकै छैनन्, तर भन्दिए मैले उहाँसँग २\३ पटक भेटेँ

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जापान गएर तथ्यहीन अभिव्यक्ति दिएका छन् ।

उनी ५ दिने जापान भ्रमणमा शुक्रबार निस्किएका छन् । उनी शनिबार बिहानै जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए । उनलाई जापानस्थित नेपाली राजदूतले विमानस्थलमै पुगेर स्वागत गरेका थिए । त्यसपछि अध्यक्ष प्रचण्डले सञ्चारकर्मीसँगकै कुराकानीमा उनले जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेलाई भेट्ने इच्छा पूरा नभएको बताएका थिए ।

सिन्जो आबेको गत जुलाई ८ मा चुनावी सभालाई सम्बोधन गरिरहेकै बेला एक बन्दुकधारीले गोली हानेर हत्या भइसकेको छ । आबे जापानका लोकप्रिय नेता थिए । सो आबेकै बिषयमा सञ्चारकर्मीहरुसँग बोल्दै प्रचण्डले आबेसँग आफ्नो सम्बन्ध राम्रो भएको बताए ।

त्यस्तै पूर्वप्रधानमन्त्रीका रूपमा सिन्जो आबे नेपाल भ्रमणमा आउँदा आफूसँग दुई तीन पटक कुराकानी भएको पनि उनले दाबी गरे।

दाहालले आबेलाई भेट्ने इच्छा पूरा नभएको पनि बताए । आफू जापान आउँदा उनीसँग भेट्ने बातावरण बनाउदै गरेपनि त्यो चाहना पूरा नभएको उनले बताए । तर नेपालस्थित जापानी दूतावासले भने अनुसार अहिलेसम्म जापानबाट एक पटक बहालवाला प्रधानमन्त्री नेपाल भ्रमणमा आएका छन् । सो अनुसार आबे पूर्वप्रधानमन्त्रीका रुपमा नेपाल आएका छैनन् । यसले प्रचण्डको दाबी फेल गराएको छ ।

त्यस्तै आबे प्रधानमन्त्री वा पूर्वप्रधानमन्त्रीका रुपमा नेपाल भ्रमणमा नआएको पूर्वपरराष्ट्र सचिव मदनकुमार भट्टराईले पुष्टि गरेका छन् ।