पाँचथर, २५ साउन । पत्रकार कविन्द्र शेर्मालाई ‘फोनिज पत्रकारिता पुरस्कार–२०७९’ प्रदान गरिने भएको छ ।
नेपाल आदिवासी पत्रकार महासंघ (फोनिज) पाँचथर शाखाले पत्रकार शेर्मालाई ५० हजारको राशि सहित पुरस्कृत गर्ने भएको हो ।
फोनिज शाखा पाँचथरको मंगलबार बसेको पुरस्कार छनौट समितिको बैठकले जिल्लाकै अग्रज पत्रकार शेर्मालाई उक्त पुरस्कार दिने निर्णय गरेको हो ।
हरेक वर्ष आदिवासी जनजाति पत्रकारहरुलाई वितरण गर्नेगरी यसै वर्षबाट ५ लाख रुपैयाँको अक्षय कोषसमेत स्थापना भएको फोनिज जिल्ला शाखा अध्यक्ष रामचन्द्र बम्जनले जानकारी दिए ।
शेर्मालाई प्रदान गर्न लागिएको यो पुरस्कार सम्भवत फोनिजले प्रदान गर्ने देशभरकै सबैभन्दा ठूलो राशि भएको अध्यक्ष बम्जनले दाबी गरे ।
फोनिजको २३औँ स्थापना दिवसका अवसरमा साउन २७ गते फिदिममा एक कार्यक्रमकाबीच आयोजना गरि पुरस्कार वितरण गरिनेछ ।
फोनिजका संस्थापक अध्यक्षसमेत रहेका शेर्मा पाँचथर मिडिया प्रा।लि।का अध्यक्ष पनि हुन् । शेर्माले पाँचथर जिल्लाको संचार क्षेत्रमा अतुलनीय योगदान गरेका छन्। उनी करिब २ दशकदेखि निरन्तर पत्रकारिता क्षेत्रमा सक्रिय छन् ।
त्यस्तैगरी फोनिज नवोदित प्रोत्साहन पत्रकारिता पुरस्कार स्थानीय संचारकर्मी सुनिता खजुमलाई प्रदान गरिने अध्यक्ष बम्जनले बताए ।