रामचन्द्र नेतृत्वको फोनिज पाँचथर, जसले देशकै ठूलो पुरस्कार कोष खडा गर्यो

पाँचथर, २५ साउन । पत्रकार रामचन्द्र तामाङ नेतृत्वमा रहेको नेपाल आदिवासी पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा पाँचथरले हालसम्मै ठूलो पुरस्कार राशिको कोष ‘फोनिज पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ ।

मंगलबार बसेको फोनिज जिल्ला कार्यसमिति पाँचरको बैठकले पत्रकारिता क्षेत्रमा लामो समय त्रियाशील रहेका आदिवासी जनजाति पत्रकारलाई सम्मान गर्दै पुरस्कृत गर्ने उदेश्यले ५ लाख बराबरको कोष स्थापना निर्णय गरेको हो । उक्त कोषबाट हरेक वर्ष एक पत्रकारलाई रु ५० हजारसहित पुरस्कृत गर्ने र पत्रकारिता क्षेत्रमा लाग्दै गरेका अर्का एक पत्रकारलाई नवोदित प्रोत्साहन प्रदान गरिने जिल्ला अध्यक्ष रामचन्द्र बन्जनले जानकारी दिएका छन् ।

कोष स्थापना त्यति सहज नभएपनि पत्रकारिता क्षेत्रमा लागेका नयाँ पीडिको प्रोत्साहन तथा अग्रज पत्रकारको सम्मानका लागि कोष खडा गर्ने निर्णय गरेको अध्यक्ष बम्जनले बताए ।

‘फोनिज पत्रकारिता पुरस्कार–२०७९’ भने जिल्लाकै अग्रज पत्रकार कविन्द्र शेर्मालाई दिने निर्णय गरिएको छ । यहि साउन २७ गते फोनिजको स्थापन दिवसको अवसर परेर शेर्मालाई रु ५० हजार राशिसहित सम्मान गरिने छ ।

त्यस्तै यही कोषबाट नवोदित प्रोत्साहन पत्रकारिता पुरस्कार पनि हरेक वर्ष एक आदिवासी जनजाति पत्रकारलाई पुरस्कृत गरिने उनले बताए । यसवर्षको नवोदित प्रोत्साहन पुरस्कार भने सुनिता खजुमलाई प्रदान गरिने छ ।

यस वर्षको पुरस्कार वितरण गर्ने छनौट समितिमा फोनिज पाँचथरले उपाध्यक्ष सहर तामाङको संयोजकत्वमा सहसचिव चित्रकला हाङसरुम्वा र मौसम सम्बाहाम्फे सदस्य रहेका थिए । उक्त समितिले नै शेर्मा र खजुमलाई पुरस्कार वितरणका लागि सिफारिस गर्ने निर्णय गरेको हो । यो पुरस्कार राशि देशभर फोनिजले दिने मध्येको ठूलो पुरस्कार भएको अध्यक्ष बम्जनको दाबी छ ।

हाल पाँचथरको सुम्हालुङ एफएमका स्टेशन म्यानेजर समेत रहेका बम्जन नेपाल पत्रकार महासंघ जिल्ला शाखा पाँचथरका सचिव पनि हुन् ।

उनी करिब अढाइ दशकदेखि सक्रिय पत्रकारितामा छन् ।