कञ्चनपुर, १३ भदाै । कञ्चनपुरमा नेकपा माओवादी नेता र नेकपा एकीकृत समाजवादीका सांसदहरुसहित अन्य दर्जनौँ नेताहरु एमालेमा प्रवेश गर्ने भएका छन् ।
समाजवादी कञ्चनपुरका प्रतिनिधि सांसद विना बुढाथोकी, सुदूरपश्चिम प्रदेशसभा सदस्य तारा लामा तामाङ एमाले प्रवेश गर्न लागेका हुन् ।
त्यस्तै समाजवादीकै पूर्वसुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष बिक्रमबहादुर शाही, वेदकोट नगरपालिकाका पूर्वमेयर समेत रहेका समाजवादीका जिल्ला उपाध्यक्ष अशोककुमार चन्दसहितका नेता कार्यकर्ता एमालेमा प्रवेश गर्न लागेको जनाइएको छ ।
त्यस्तै गरी समाजवादीका नेता वीरबहादुर बुढाथोकी पनि एमाले प्रवेश गर्ने जनाइएको छ । त्यस्तै समाजवादीका जिल्ला उपाध्यक्षसहितका चार जना पदाधिकारी पनि एमालेमा फर्किने तयारीमा रहेका छन् ।
उनीहरुले एमाले प्रवेश गर्नका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरिसकेका छन् । उनीहरुले ओली निवास बालकोटमै पुगेर पार्टी प्रवेश गर्ने जनाइसकेका छन् । उनीहरुको औपचारिक पार्टी प्रवेश केही दिनमै हुने जनाइएको छ ।
त्यस्तैगरी नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरु पनि एमाले प्रवेश गर्ने भएका छन् ।
स्रोतका अनुसार माओवादीका संविधानसभा सदस्य समेत रहेका हरिश ठकुल्ला उर्फ कमल क्षेत्री र नेता मोहन गिरी पनि एमाले प्रवेश गर्ने भएका छन् ।
एमालेले भदौ १५ गते महेन्द्रनगरमा जनसभा तथा पार्टी प्रवेश कार्यक्रम राखेको छ । जसका लागि अध्यक्ष ओली स्वयम कञ्चनपुर जाने कार्यक्रम छ ।