काठमाडौं, १३ भदौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङलाई लागेको रोगको पहिचान भएको छ ।
उनलाई ‘मेनियर्स सिन्ड्रोम’ अर्थात कानको भित्रि भागमा समस्या हुने रोग भएको पत्तो लागेको हो ।
उनमा पटक–पटक रिँगटा लाग्ने, वाकवाकी आउनेजस्ता समस्या देखिने गरेको थियो ।
उनी मन्त्री भएयता २ पटक अस्पताल भर्ना भइसकेका छन् । केहीदिन अघि विर अस्पताल भर्ना भएका खापुङको मेनियर्स सिन्ड्रोम भएको अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा भूपेन्द्र बस्नेतले बताए । उनी शनिबार नै अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।
कानको दुई तहमध्ये भित्री कानमा हुने प्रेसरका कारण कानको भित्री भागमा असर पर्न गई देखिने समस्या मेनियर्स सिन्ड्रोम भएको डाक्टरहरुले बतएका छन् ।
नेपालमा कानसम्बन्धी समस्या लिएर अस्पताल पुग्नेमध्ये ९० प्रतिशत बिरामीमा मेनियर्स सिन्ड्रोम देखिने गरेको छ ।
चिकित्सकहरुका अनुसार यसले निम्त्याउने मुख्य समस्या भनेको पटक–पटक रिँगटा लाग्नु हो ।
यो समस्या भएका व्यक्तिमा एक सातादेखि १०–२० वर्षसम्म पनि रिँगटा लाग्ने समस्या पटक–पटक दोहोरिन सक्ने चिकित्सकको भनाइ छ ।