मेची राजमार्गको इलाममा पर्ने सडकखण्डमा दुर्घटनाको जोखिम उच्च

इलाम, १५ भदौ । मेची राजमार्गको इलामभित्र पर्ने विभिन्न स्थानमा सवारी दुर्घटना बढ्दो छ ।

अव्यवस्थित सडक संरचनाले सवारी दुर्घटना बढेपछि यात्रु र चालकले कष्टप्रद यात्राको सामना गर्नुपरेको छ ।

पूर्व–पश्चिम राजमार्गको झापा चारआलीदेखि इलाम, पाँचथर हुँदै ताप्लेजुङ जोड्ने सो राजमार्गअन्तर्गत इलाम खण्डको करिब ९० किलोमिटर सडक ठाउँ–ठाउँमा जीर्ण बन्दा सवारीसाधन दुर्घटना बाक्लिएको हो ।

गत असार १७ मा इलाम नगरपालिका १, मिलगोलाइमा सवारी दुर्घटना हुँदा १३ यात्रु घाइते भए । ताप्लेजुङको थुम्बेदिनबाट झापातर्फ गुडिरहेको को १ ज ३३२९ नं को जीप त्यहाँ दुर्घटना भयो ।

जीप अनियन्त्रित भई राजमार्गबाट अन्दाजी तीन सय मिटर तल पुवाखोला नजिकै झर्दा घाइते हुनेमध्ये फालेलुङ गाउँपालिका– १ की ३२ वर्षीया अप्सरा कोइराला, याङ्बरक गाउँपालिका– ५ का ५१ वर्षे प्रेम तामाङ र याङ्बरक गाउँपालिका ६ का २३ वर्षे दीपेन्द्र कोइराला गम्भीर घाइते हुनुभयो ।

गत मङ्सिर २८ मा इलामकै हर्कटे–फिक्कल सडक खण्डको कन्याममा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भयो । नौ जना घाइते भए । हर्कटे बजारबाट फिक्कलतर्फ आउँदै गरेको मे १ ज ३३०७ नं को भ्यान अनियन्त्रित भएर सडकबाट करिब एक सय मिटर तल खस्यो ।

दुर्घटनामा माइजोगमाई गाउँपालिका–३ का भरत घिमिरे र सोही गाउँपालिका–४ का रामप्रसाद तिम्सिनाको मृत्यु भयो । गएको माघ १३ मा रोङ गाउँपालिका– ४ पहिरोस्थित मेची राजमार्गमा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भयो । एकजना गम्भीर घाइते भए ।

झापाबाट इलामतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ नं को खाली पिकअप सडकबाट करिब पाँच सय मिटर तल खस्दा त्यसमा सवार झापा मेचीनगर नगरपालिका– ४ का ५५ वर्षीय रमेश थापा र त्यहीँका ४० वर्षीय सूर्यबहादुर थापाको घटनास्थलमै मृत्यु भयो । सवारी चालक ३३ वर्षे अर्जुन कोइराला सख्त घाइते हुनुभयो ।

यी त प्रतिनिधि घटनामात्रै हुन् । आर्थिक वर्ष २०७८\७९ मा सो राजमार्गअन्तर्गत इलाम खण्डमा साना–ठूला गरी १८ सवारी साधन दुर्घटना भएको तथ्याङ्क जिल्ला ट्राफिक प्रहरी कार्यालयसँग छ । कार्यालय प्रमुख शैलेन्द्र गच्छदारले यो अवधिमा १० जनाले ज्यान गुमाएको र १८ जना घाइते भएको बताउनुभयो ।

“दुर्घटनाको मुख्य कारण भत्किएको कालोपत्र, साँघुरो सडक, प्रतिकूल मौसम, अव्यवस्थित पार्किङलगायत छन्”, उहाँले भन्नुभयो, “ चालकको लापरबाही, मादकपदार्थ पिउनु, तीव्र गति र ब्रेक फेलजस्ता कारणले पनि दुर्घटना बढिरहेको छ ।”

झापाको चारआलीदेखि ताप्लेजुङसम्म दुई सय ६८ किलोमिटरको मेची राजमार्ग सबैजसो कालोपत्र भएको छ । तर, कालोपत्र भत्किएर सडकका बीच–बीचमा ठूूला खाडल पर्दा पनि मर्मतमा पर्याप्त चासो नभएको उपभोक्ताको गुनासो छ ।

प्रत्येक दिन हजारौँको सङ्ख्यामा साना र ठूला सवारीसाधन आउँ–जाउँ गर्ने मेची राजमार्ग जीर्ण बनिरहँदासमेत बेलैमा मर्मत गर्न आनाकानी भइरहेको सवारी चालकको गुनासो छ ।

इलाम–विर्तामोड सडकमा सवारी चलाउने चालक रमेश राई दिनहुँ सयौँ गाडी गुड्ने यो राजमार्गमा कतिबेला दुर्घटना हुन्छ भन्ने टुङ्गो नै नभएको बताउँनुहुन्छ । “ यात्रुको ज्यान जोखिममा राखेर सरोकारवाला मुकदर्शक बन्नु दुःखद् हो”, उहाँले भन्नुभयोे, “सडक अतिक्रमण गरी निर्माण गरिएका संरचनाले पनि सवारी गुडाउन असहज छ । कम्तीमा सम्बन्धित निकायले भएको सडकको क्षेत्राधिकार खाली गराउन र खाल्डाखुल्डी पुर्न त सक्नुपर्ने हो ।”

सदरमुकामस्थित डिभिजन सडक कार्यालयले सूर्योदय नगरपालिकाको समन्वयमा सडकको दायाँ–बायाँ क्षेत्राधिकार रहेको १५ मिटरमा निर्माण भएका संरचना हटाउने प्रयास यसअघि नगरेको होइन । सडक डिभिजन र नापी कार्यालयको सहयोगमा मेची राजमार्गको हर्कटेबाट पाल्टाँगेसम्म चार किलोमिटरमा सडकको दायाँ–बायाँ एक हजार पाँच सय मिटर क्षेत्रको नक्शाङ्कन गर्ने काम पनि भयो ।पर्यटकीय क्षेत्र कन्यामको सौन्दर्यमा नयाँ रौनक थप्न पहिलो चरणमै राजमार्ग विस्तार गरियो तर ठोस् उपलब्धि हुन नसकेको स्थानीयवासी बताउँछन् । आज पनि यो क्षेत्र साँघुरो छ भने सडक अतिक्रमण गरी बनाइएका संरचना पूर्ण रूपमा हटेका छैनन् ।

सदरमुकामबाट राजदुवालीसम्मको राजमार्ग खण्ड धेरै स्थानमा भास्सिएको छ । भौगोलिक रूपमा कमसल, उकालो र घुमाउरो बाटोका कारण यो क्षेत्रमा राजमार्ग नै दबिएको हो । यही क्षेत्रमा दुर्घटना धेरै हुने गरेका छन् ।

सवारी दुर्घटनाको जोखिम बढ्दै जाँदा ट्राफिक प्रहरीलाई पनि व्यवस्थापनमा समस्या भएको छ । इलाममा ट्राफिक प्रहरीको सङ्ख्या नै कम भएकाले पनि जिल्लाको ट्राफिक व्यवस्थापनमा समस्या भएको प्रहरीले जनाएको छ ।

अहिले मेची राजमार्गको इलाम खण्डमा १९ जना ट्राफिक प्रहरीले सेवा दिइरहेका छन् । सरोकारवालाले पनि दुर्घटनाको दोष चालकलाई मात्र दिएर सडकको दुरावस्थामा ध्यान नदिएको यातायात व्यवसायीको गुनासो छ ।

चालकले ट्राफिक नियम पालना नगर्दा अनिवार्य रूपमा राजस्व तिर्नुपर्छ । तर, भत्केको र जीर्ण सडक मर्मतमा निर्माण कर्ताले ढिलासुस्ती गर्दा अनुगमन र कारबाही हुनसकेको छैन ।

गत आर्थिक वर्ष २०७८\७९ मा नियमविपरीत कुदाइएका तीन हजार आठ सय ९३ मोटरसाइकलबाट प्रहरीले रु बाइस लाख ४५ हजार राजस्व सङ्कलन गरेको थियो ।

सो अवधिमा नियमविपरीत चलेका सबै प्रकारका सवारी साधनबाट साढे ५१ लाख राजस्व सङ्कलन भएको तथ्याङ्क छ ।