काठमाडौं, २८ मंसिर । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आफूबिरुद्ध विभिन्न पदसँग जोडेर सभपतिको निर्वाचनमा देउवालाई सहयोग गरेको भन्दै समाचार छापिएको भन्दै आपत्ति जनाएका छन् ।
उनले एक बिज्ञप्ति जारी गर्दै समाचार अनलाईनहरुमा आफ्नो बदनाम गर्ने हिसाबले समाचार छापिएको भन्दै उनले गम्भीर अपत्ति भएको जनाएका छन् । उनले बिज्ञप्तिमार्फत देउवालाई निशर्त सहयोग गरेको पनि उल्लेख गरेका छन् ।
‘नेपाली कांग्रेसको केन्द्रीय सभापति पदको दोस्रो चरणको निर्वाचनमा मैले श्री शेरबहादुर देउवालाई निशर्त समर्थन गरेको हुँ,
निस्चित कुनै पद लिने भन्ने सम्झौता भएको भन्ने ढंगले केहि अनलाइनमा आएका भ्रमपुर्ण समाचारहरुप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ – उनले भनेका छन् ।
त्यस्तै प्रथम चरणको निर्वाचनमा सबैले भन्दा बढि मत प्राप्त गर्नुभएको तथा आफ्नो कार्यशैलीमा परिवर्तन गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हुँदा मैले मेरो स्ट्रेट फरवार्ड स्वभाव अनुरुप उहाँलाई समर्थन गरेको उनले बताएका छन् ।
‘कुनै अन्य खाले अनर्गल भ्रममा नपर्न म सबै आदरणीय पत्रकार मित्रहरू र समस्त नेपाली दिदीबहिनी दाजुभाइलाई अपील गर्दछु,’ उनले भनेका छन् ।
यसअघि केही समाचार माध्यमहरुमा उपप्रधानमन्त्री पद लिनका लागि सिंहले देउवालाई सभापतिमा सहयोग गरेको भन्ने समाचारहरु प्रकाशित भएका थिए ।