लिम्बू र संघीययताको सन्दर्भ : मुन्धुम निर्माण, विभिन्न वंशहरु र पहिचान

  • नन्द कन्दङवा

काठमाडौं, १६ भदौ ।किरात भनिएका मानव समुह लिम्बू, राई, याख्खा, सुनुवार लगायतकामा रहेको मुन्धुमको निर्माणकाल सम्बन्धमा केही अलमल रहेको छ । यस सम्बन्धमा पहिलो कुरा मुन्धुम कुनै अलौकिक या अदृष्य शक्तिले निर्माण गरेको होईन भनेर बुझ्न जरुरी छ ।

दोस्रो, मुन्धुमी मानव समुहका प्राकमानव तथा प्राचिन पुर्खाहरुले नै मुन्धुमको निर्माण गरेका हुन भन्ने बुझ्न आवश्यक छ ।

तेस्रो, मुन्धुम बन्ने प्रकृया निरन्तर र लामो प्रकृया हो भन्ने मान्नु पर्दछ । यो एक रात एक दिनमा कथा रचे जस्तो प्रकृयाबाट बनेको होईन ।

मुन्धुमको निर्माण थाहा पाउन र अध्ययन गर्न एनेमिष्ट सामानिजमको उत्पति तथा अध्ययन नगरि सम्भव छैन ।

सामानिजमको उत्पति अर्थात शुरुवात ३० हजार बर्ष पहिले साईबेरीयन क्षेत्रमा भयो भन्ने अनुमान छ । कसै कसैले यो समय १० हजार बर्ष पहिले हो पनि भनेका छन् ।

यस समयकालमा अलि तलमाथी हुन सक्छ । पृथ्वी उत्पतिको साईबेरियन आदिवासीको मिथक (Mythology) र लिम्बूमा रहेको मिथक लगभग मिल्न आउछ ।

साईबेरियन मिथकमा पृथ्वी रुख जस्तो तलै तलाको अवधारणा छ । लिम्बूमा रहेको सृष्ट्रि मुन्धुममा पनि पृथ्वी तलै तला रहेको बर्णन आउछ । साईबेरीयन मिथकमा जनावारहरु मानवको साथी अर्थात पुर्खाकोरुपमा देखा पर्छन । लिम्बू, मुन्धुमा पनि चरा र जनावार मानिस भन्दा पहिलेको भनेर बर्णन आउछ ।

साईबेरियन मिथकमा सिर्जना गर्ने देवता भिएलगन (Vlgan) ले नामा (Nama) नाम गरेको एक मानिसलाई बाढी (प्रलय) बाट मानव र उसको परिवारलाई बचाउन आदेश भए अनुसार बोट (ढुंगा) मा राखेको मिथक आउछ । लिम्बू, मुन्धुममा सोधुगेन लेम्पुहाङले माछाले सल्लाह दिएको आधारमा सबै जन्तु र मानिसहरुलाई ठुलो नाउकामा राखेर प्रलयबाट बचाएको कथा आउछ ।

यसैगरि, साईबेरियन मिथकमा पुथ्वीलाई ज्यादै गर्मी र ज्यादै जाडो बनाउने फाल्टु घाम (Extra sun)  र जुनलाई नास गरेको मिथक आउछ । लिम्बू मुन्धुममा आठवटा घामको कारण ज्यादै गर्मि भएको र उक्त ७ वटा घामलाई बासको तालै ताला चडेर दुम्सीले आफ्नो काणले हानेर मारेको कथा आउछ ।

मिथकहरुमा समानता र बसाई सराई

यी मिथकहरुको समानताले मंगोलोईड मानव समुहकोरुपमा रहेका विश्वकै एनेमिष्ट सामानिष्ट आदिवासीहरुको सृष्ट्रि कथा लगभग एकै प्रकारको रहेको छ भन्ने देखाउछ ।

यसको अर्थ, कुनै कालखण्डमा ति मानव समुहका प्रागमानव समुह कि त एउटै क्षेत्र अर्थात स्थानमा थिए या एउटै प्रागमानव समुहका शाखा सन्तान थिए या ति मिथक पछिल्लो समयमा साईबेरियनहरुबाट सापट लिएको हो भन्ने देखाउछ ।

समयको लामो कालखण्डमा तिनीहरु विभिन्न समुहमा बाडीए र बाडिदै जाने अनि विभिन्न दिशातिर बसाई सराई गर्दै जाने क्रममा अहिलेको मानव समुहकोरुपमा बिकास भए भन्ने अनुमान हुन्छ । जेनेटिक अध्ययन, मानवशास्त्रीय अध्ययन र पुरातात्वीक अध्ययनले पनि येही कुरा बताउछ ।

कतिपय लेखक तथा ईतिहासकारले रामापिथेकसको उदाहरण दिएर हिमाल क्षेत्रमा नै मानिसको उत्पति भयो भन्ने निश्कर्ष दिएका छन् । पहिलो त यो रामापिथेकस भनिएको जनावार नरबानर हो भन्ने प्रमाणीत छैन ।

यस कुरालाई सावित गर्ने अरु प्रमाणहरु नभएको हुनाले यस्ता निश्कर्ष अनुमान मात्र हुन, सही ठहर्दैनन् । बंशाणु बिज्ञानले हिमाल वारीबाट हिमाल पारी गएको नभई हिमालय श्रृखला र मध्य एशिया–पुर्वी एशिया वीच करिव ४२ हजार बर्ष पहिले बिकास भएको जेनेटिक हाप्लो ग्रुपबाट परिवर्तन भएर बनेको परिवर्तित जेनेटिक हाप्लो ग्रुप (Muted variant haplo group) का मानिसहरु हिमालवारी नेपाल, सिक्किम, भारत, अरुणाचल, आसाम, बर्मामा पाईन्छन् ।

यसको उदाहरण चिनको टियनयुयन गुफामा पाईएको टियनयुयन मानवको अवशेष हो जस्को अध्ययन र परिक्षणबाट यो कुरा पत्ता लागेको छ ।

यसको अर्थ मध्य एशिया आसपास अर्थात मध्य–पुर्वी एशियाको आसपासबाट विभिन्न स्थानहरुमा बसाई सराई बसोबास गर्दै अन्यसंग सम्मिश्रण हुदै अहिले बसोबास गरेको क्षेत्रमा आईपुगेको देखिन्छ ।

शायद तेही मानवको एक शाखा साईबेरियातिर बसाई सराई गर्दै त्यहा पुगेको अनुमान गर्न सकिन्छ । यो पनि हुन सक्छ कि उक्त मानव समुह साईबेरियाको क्षेत्रबाट मध्य अथा मध्यपुर्वी एशियामा आयो । साईबेरियन आदिवासीहरुमा पाईएको जेनेटिक हाप्लो ग्रुपले पनि त्यहि कुरा सावित गर्दछ ।

सृष्ट्रिको मिथक र विश्वकै सामानिष्टहरुको कतिपय विधि विधान मिले पनि बाकी संस्कार संस्कृति, सबै आध्यात्मिक विधी विधान र विभिन्न स्थानहरुको बर्णन भने मिल्दैन ।

यसको अर्थ यि कुराले बाकी मुन्धुमहरु अहिले बसोबास भएको क्षेत्रमा आए पछि निर्माण भए भन्ने देखाउछ ।

हुन त लिम्बू, मुन्धुमले सिन्युक मुदेन, तेमेन वरङ, मुनातेम्बे, मिक्फुरादेन, खाम्पुरादेन आदीको बर्णन गर्ने भएकोले केही मुन्धुम अहिले बसोबास भएको क्षेत्र भन्दा बाहिर र बसाई सराईको रुट पनि त्यतैतिरबाट भयो कि भन्ने प्रश्न आउछ ।

मुन्धुममा आउने सिन्युक मुदेन र तेमेन वरङलाई छोडेर मुनातेम्बे भनेको कहा हो र कुन हो भनेर कसैले पहिचान गर्न सकेको स्थिति छैन । उक्त स्थान वा ठाउ प्रागऐतिहासिक तथा प्राचिनकालको नेपाल उपत्यका र त्यहाको सभ्यता या चिनको याङटेज–येलो रिभर भ्याली सभ्यताको कुनै एक स्थान या बनारस भनिएको काशी या सिन्धुघाटीको सभ्यताको कुनै एक स्थान होईन भन्ने ठाउ पनि छैन ।

कतिपयले त उक्त स्थान गंगा–ब्रह्मापुत्र मैदान हो पनि भन्न पुगेका छन् । कसै कसैले उक्त स्थान तिव्वततिर हुनु पर्छ भन्ने अनुमान गरेका छन् भने कतिपयले चिनको सिचुवान प्रान्तमा रहेको कुनै स्थान हुन सक्छ भन्ने अनुमान गर्छन । यसैगरि, एकथरीहरुले यो मुनातेम्बे भन्ने स्थान चिनको ताक्लामकान मरुभुमी क्षेत्रको एक स्थान हो भन्न सम्म भ्याएको स्थिति छ ।

यसैगरि, मिक्फुरादेन र खामपुरादेन भनेको स्थान कहा हो र कुन हो भन्ने पनि कसैले भन्न सकेको स्थिति छैन । ति स्थान तथा ठाउहरु पनि आजको लिम्बू (याक्थुङ) समुह बसाई सराई (Migration) हुने क्रममा सो रुटमा पर्ने स्थानहरु हुन् ।

मुन्धुमको निर्माण र लिम्बूजातिको अस्तित्व

एउटा कुरा के स्पष्ट छ भने लिम्बू समुदायमा रहेको सृष्ट्रि मुन्धुमलाई छोडेर धेरै मुन्धुमहरु अहिले बसोबास गरेको क्षेत्रमा नै निर्माण भयो ।

उक्त कुरा विभिन्न मुन्धुमहरुले बर्णन गरेको ठाउ तथा स्थानहरु अहिले लिम्बू बसोबास भएकै क्षेत्रमा रहेकोले सो कुरा प्रमाण्ीत गर्दछ । यद्यपी मुन्धुममा आउने कतिपय ठाउ तथा स्थानहरु कहा छन् भन्ने थाहा पाउन सकिएको छैन ।

यसले लिम्बू समुदायमा रहेको सृष्ट्रि मुन्धुम निर्माणको आधार साईबेरियन मिथककै रुप भए पनि अन्य मुन्धुमहरु भने आफ्नै परिबेशमा निर्माण भएका हुन भन्ने स्पष्ट गर्दछ । पछिल्ला मुन्धुमहरु कहिले निर्माण भए भन्ने कुरा लिम्बू (याक्थुङ) बंशहरुको उक्त क्षेत्रमा उपस्थितिको समयले निर्धारण गर्दछ । यसको मुख्य आधार भनेको ति बंशहरुको बंशावली, बर्तमान जनसंख्या र बैज्ञानिक्तामा आधारित बंश पुस्ताको संख्या हो ।

लिम्बू, (याक्थुङ) भनिएका मानव समुहका विभिन्न बंशको बंशावली, बंश पुस्ता र बर्तमान जनसंख्याले उनीहरुको पुस्ता १ को समय आठौ शताव्दी भन्दा अघि लैजादैन ।

त्यो समय भन्दा अघि अहिले लिम्बू (याक्थुङ) पहिचान भएका मानव समुहहरुको पहिचान अरु नै पहिचान थियो भन्नु पर्ने हुन्छ । लिम्बू (याक्थुङ) लाई प्राग ईतिहासकालीन मानव समुह तथा प्राचिन जाति समुह हुन भन्न प्राचिन नेपालमा शासन गर्ने किरात, नागबंश (नागा बंश) र भारत तथा नेपालमा देखिएका प्रागऐतिहासिक मानव समुहकोरुपमा रहेका यख्खसंग जोडिन्छ कि जोडिन्न भनेर हेर्नु पर्ने हुन्छ ।

यस्ता कुरामा मुन्धुमले भनेका कुरालाई धेरै आधार बनाउन सकिन्न र प्रमाणीत गर्न पनि सकिन्न । त्यसैले, किरात, सिन्युक मुदेनसा, तेमेनवरङसा, खाम्बोङसा लुम्बोङसा भनिएका पहिचानहरु लिम्बु (याक्थुङ)को ईतिहास हुन् तिनीहरुलाई न हटाउन सकिन्छ न बिर्साउन सकिन्छ न बर्तमानको पहिचान बनाउन सकिन्छ । कोट्याउदै गए त्यो भन्दा पर अरु नै पहिचानमा पुगिन्छ ।

यसको अर्थ कोट्याउनै हुदैन भन्ने कुरा होईन । ईतिहासको लागी कोट्याउन आवश्यक हुन्छ न कि बर्तमान पहिचानको लागी ।

लिम्बू, जातिको ईतिहास लेखन गर्ने एक लेखकले लिम्बुमा रहेको विभिन्न मुन्धुमको समयलाई भुगर्मबेत्ताहरुले पृथ्वीको समयकाललाई बिभाजन गरेको उपकल्प (Era) र युग (Age) मा जोड्ने प्रयत्न गरेको देखिन्छ र लिम्बु जातिको अस्तित्व तिनै उपकल्प र युगदेखी नै थियो भन्ने जोड दिइएको छ ।

यस भारतिय उपमहाद्धिपमा ईतिहास र मानव समुहको बर्णनमा विभिन्न खाले ट्रेण्ड देखिन्छ । ति मध्ये ३ वटा टे«ण्डमा लिम्बुसंग गासिएको एउटा ट्रेण्ड छ हिन्दुकरण र आर्यकरण गर्ने । दोस्रो ट्रेण्ड छ किरातकरण गर्ने र, तेस्रो ट्रेण्ड छ याक्थुङकरण गर्ने यद्यपी यसको क्षेत्र सिमित छ ।

यहि ट्रेण्डको वरीपरी रहेर लिम्बुमा रहेको मुन्धुम र लिम्बु जातिलाई विभिन्न उपकल्प र युगहरुमा हाल्ने रोग देखिएको छ ।

यहासम्म दावी रहेको छ कि मानवको सृष्ट्री नै यहि हिमालय क्षेत्रमा भयो र यहिबाट विश्वभर छरिए । आगो पनि यहिका मानवले आविष्कार गरे ।

पक्लुङ लेप्मा मुन्धुम, यूमा साम्माङ मुन्धुम, याप्मीपोङमा मुन्धुम, केसामी नाम्सामी मुन्धुम, कुदाप साम्माङ मुन्धुम, वागोङमा मुन्धुम, साम्सोघा लगायतका मुन्धुमहरु ४० हजार देखि ६ हजार ईसा पुर्वमा उत्पति तथा निर्माण भएको दावी छ र त्यहि समयदेखि लिम्बु मानव समुहको अस्तित्व निरन्तर रहिआएको छ भन्ने मत रहेको छ । लिम्बु (याक्थुङ) भनिएका मानव समुहका विभिन्न बंशको बंशावली, बंश पुस्ता र बर्तमान जनसंख्याले उनीहरुको पुस्ता १ को समय ईस्वीको आठौ शताव्दी भन्दा अघि लैजादैन ।

ईस्वीको आठौ शताव्दी भन्दा अघि नलैजाने लिम्बू मानव समुहको अस्तित्व र तिनैले निर्माण गरेको मुन्धुम ईसापुर्व ४० हजार देखि ईसापुर्व ६ हजार बर्षतिर उत्पति तथा निर्माण भएको दावी हुनु आश्चर्य हो । ईसापुर्व ९–६ हजार बर्ष अघिको मानव सभ्यता त याङटेज–येलो रिभर भ्याली सभ्यता मात्र हो ।

त्यो संगै ईसापुर्व ६–२ हजार सम्मका मानव सभ्यताहरु मेसोपोटामिया र सिन्धुघाटी सभ्यता हुन । यसरी लेखन गर्दा बंशावली, बंश पुस्ता र जनसंख्याको अहिलेको यथार्थलाई मध्य नजर गरेको भए यस्तो आश्चर्यजनक खालको लेखन तथा दावी हुने थिएन होला ।

एउटा कुरा के सत्य हुन सक्छ भने नागा किरात र यख्ख किरातका पाईएका मुर्तिहरुको समय निर्धारणले तिनीहरुको प्रागऐतिहासिक काल चाही ईसापुर्व ३–४ हजार बर्ष पुग्छ ।

अर्को कुरा के हेक्का राख्नु जरुरी छ भने लुम्बोङसाबाट लिम्बू मानव समुहकोरुपमा पहिचान भएको पनि त्यहि ईस्वीको दशौ–एधारौ शताव्दीदेखी नै हो भन्ने अनुमान हुन्छ ।

त्यस अघि लिम्बूजाति भित्रका विभिन्न बंशहरुको फरक फरक पहिचान थियो भन्ने प्रशस्त ठाउ रहेको छ । त्यहि लुम्बोङसा खाम्बोङसाहरुले ईस्वीको १२–१३ औ शताव्दीतिर यकहाङ यक अर्थात गढको राजा) भन्ने क्रमबाट केही समयको अन्तरालमा याक्थुङ पहिचान ग्रहण गर्न पुगेको देखिन्छ । यहि कुरा लिम्बुवानका नेताहरुले बिं.सं. १८३१ को सन्धि गर्दा पृथ्वीनारयाण शाह पक्षलाई हामी लिम्बु यकहाङका सन्तान हौ भनेकाले सो शव्द उक्त सन्धिमा पर्न गयो ।

अझ दश लिम्बूवान (थिबोङ याक्थुङ) राज्य बने पछि र याक्गुङ मानव समुहकोरुपमा राज्यले नै बैधता प्रदान गरे पछि आम जनमानसमा याक्थुङ झन प्रचलित बन्न गएको हो भन्ने स्पष्ट छ ।

जहासम्म मानिसको सृष्टि नै यहि भएको हो र आगोको आविष्कार पनि यहिका मानव समुहबाट ताप्लेजुङ जिल्लाको मुक्कुमसेमी कुपोक्मादेनमा भएको भन्ने दावी छ ति कुराहरु मैथोलोजी अर्थात मिथक हुन् ।

मानव शास्त्रीहरुले नियान्डरथल मानवले आगो पत्ता लगाएको र प्रयोग गरेको कुरा प्रमाणीकरण गरेका छन् ।

सबै मिथक (Mythologies) हरु यथार्थमा आधारित हुदैनन् । तिनीहरु सही या गलत के हुन भनेर पुरातात्वीक प्रमाण, जिवहरुको अवशेषको अध्ययन र कार्वन डेटिङ, मानव शास्त्रीय अध्ययन आदीको आधारमा प्रमाणीकरण गरिनु पर्दछ । मानव उत्पति र बिकासको सिद्धान्तमा (Single Origin and Out of Africa Theory) यि सबै कुरालाई हेरेर आएको हो ।

निकट भविष्यमा अफ्रिका बाहिर अफ्रिका भन्दा पुराना करोडौ करोड बर्षका मानव अवशेषहरु फेला परे भने त्यसबेला मानवको सृष्टि सिद्धान्त बद्लीन सक्छ र बदल्नु पर्ने हुन्छ । यो पनि सम्भव छ कि (Multiple Origin and Diverse Origin Theory) लाई अंगिकार गर्न पर्ने पनि हुन सक्छ ।

निकट भविष्यमा हिमालयको फक्ताङलुङ र त्यसको आसपासमा अफ्रिकामा पाईएको भन्दा अघिका करोडौ करोड बर्ष पुरानो मानव अवशेष फेला परे त्यस बेला मानिसको सृष्टी फक्ताङलुङकै क्षेत्रमा भएको रहेछ भनेर मान्नु पर्ने हुन्छ । त्यो नभएसम्म यस्ता कथाहरु फगत गाउ खाने कथाकै रुपमा रहन्छन ।

विभिन्न बंशहरु

लिम्बू भित्र विभिन्न बंशहरु छन् । ति बंशहरुको मांगेन्ना यक, मांगेन्ना मुन्धुम उठाउने स्थान, बंशावली, बसोबास तथा ईतिहासले भिन्न भिन्न बंश समुहहरु अहिले बसोबास भएको क्षेत्रमा सम्मिश्रण हुन पुगे भन्ने देखाउछ । मुन्धुमको आधारमा ३ वटा मानव समुहः (१ंं) खाम्बोङसा लुम्बोङसा (यहिको ढुंगा माटोमा उत्पती भएका समुह), (२) तेमेन वरङसा (औल तराई मधेसतिरका समुह) र (३) सिन्युक मुदेनसा (चिन भोटीया समुह) हरु परस्परमा बिलय(Merge / assimilation) भई लिम्बू (याक्थुङ) मानव समुह बिकास भएको देखिन्छ ।

खाम्बोङसा लुम्बोङसा अन्तर्गत प्रागऐतिहासिकालमा नेपाल उपत्यकामा बर्णन गरिएका नाग अर्थात नागा बंशका शाखाहरु पछिल्लो समयमा तिनीहरु बस्ने नागाा गुफा तथा ओडारहरु लिम्बूवानको विभिन्न स्थानहरुमा अहिलेसम्म कवाहतहरुमा रहेको छ तिनीहरु पनि समेटिन्छन ।

तिनीहरु मध्ये कतिपय आसामतिर गए पनि बाकी हिस्सा लिम्बूवानको भूमीमा खाम्बोङसा लूम्बोङसामा बिलय भए । यसैसंग जोडेर मुन्धुमी शिकारी युगको मुन्धुमी भाषा जो अहिले थोरै शव्दहरु बाहेक सबै लोप भईरकेका छन् त्यसको पनि खोज तथा अध्ययन हुन जरुरी छ ।

उक्त भाषा केही त अहिलेको मुन्धुमी भाषामा समेटिएका पनि होलान । नाग बंश, टिस्टुङ, पालुङ, चित्लाङ, थानकोट सहितका क्षेत्रमा रहेका गोपालीहरुको पुर्खा गोपाल–महिषपाल बंश, प्रागऐतिहासिक कालका नेपाल उपत्यकाका बानासुरसंग सम्बन्धित असुर बंशहरु पनि प्राचिन नेपालका किरात समुहका शाखा मानव समुह थिए भन्ने प्राचिन नेपालको आख्यानले देखाउछ ।

यसैगरि, प्राचिन नेपाल उपत्यका र भारतका विभिन्न स्थान जस्तै मगधको पाटलीपुत्र, हालमा मध्य प्रदेशको विदीसा, राईसेन, नेपालकै धुलीखेल चारखाल आदी ठाउहरुमा पाईएको यख्खहरुको मुर्ति र तिनको निर्माणकालले तिनीहरु प्रागऐतिहासिककालका किरातहरु थिए भन्ने देखाउछ ।

यिनीहरुसंग सम्बन्ध्ति दक्षिण भारातका साथै मध्य तथा उत्तर भारतका विभिन्न मानव बंशहरु पनि किरात मानव समुहका हुन भन्ने देखिन्छ । तर ति दक्षिण भारातका साथै मध्य तथा उत्तर भाराकाका किरातहरु ब्राह्मणकरण र क्षत्रियकरण भईसकेका छन ।

अहिले तिनीहरुलाई ब्राह्मण तथा क्षत्रिय बंश भनेर चिनिन्छन् भने कोही त शुत्र बंशको नाम पनि पाएको देखिन्छ । तर प्राचिन ईतिहासमा तिनीहरुको पहिचान खुलेको देखिन्न, अस्पष्ट देखिन्छ ।

नोटः धुलिखेलमा पाईएको यखिनीको मुर्ति २५००–३००० बर्ष पहिलेको ।

त्यसैले, विभिन्न मानव बंशहरु बिलय भएर बनेको लिम्बू भित्रका विभिन्न बंशहरुका मांगेन्ना मुन्धुम, मांगेन्ना यक, बंशावली, ईतिहास र बसोबासको स्थिति त्यस्तै देखिनु स्वभाविक छ ।

यसमा कतिपय बंशावलीहरु अपुर्ण छन भन्न सकिन्छ । यस यथार्थलाई न त परिवर्तन गर्न सकिन्छ न हटाउन या गोलमाल गर्न सकिन्छ । यसमा आग्रह र पुर्वाग्रह राखेर मुख फटफटाउनुको कुनै अर्थ छैन ।

राष्ट्र निर्माण

राष्ट्र निर्माणको प्रकृयालाई ५ वटा कुराले निर्धारण गर्दछ । पहिलो हो, साझा भूगोल या भौगोलिक क्षेत्र । दोस्रो हो, साझा भाषा । तेस्रो हो, साझा संस्कृति । चौथो हो, साझा मनोबिज्ञान । पाचौ हो, साझा आर्थिक–सामाजिक तथा जीवन यापन सम्बन्ध । यि सबै कुरा साझा र एउटै भए पछि उक्त मानव समुह राष्ट्रकोरुपमा बिकास हुन्छ या राष्ट्र हुन्छ । यसर्थमा लिम्बू (याक्थुङ) एक राष्ट्र हो ।

यसले राष्ट्र निर्माणको प्रकृया धेरै अघि पुरा गरिसकेको छ । ईतिहासमा संघियस्वरुपको दश लिम्बूवान (थिबोङ याक्थुङ) राज्य थियो ।

उक्त राज्यले सबै मानव समुहको साझा भुगोल, साझा भाषा, साझा संस्कृति, साझा मनोविज्ञान र साझा आर्थिक, सामाजिक तथा जीवन यापनको सम्बन्ध बनाउन सहयोग गर्यो र एक लिम्बू (याक्थुङ) राष्ट्र निर्माणको प्रकृयाको आधार शिला खडा गर्यो ।

यतिखेर लिम्बू(याक्थुङ) राष्ट्र वीच केही विविधताका अवशेष रहे पनि समग्रतामा समस्या रहेको छैन । यसमा धेरै दाया बाया गरिए राष्ट्र विभाजनमा जान्छ जस्ले ‘फुटाउ र शासन गर’ को नीति अंगिकार गरिरहेका उपनिवेशकारी जातिवादी शासकहरुलाई सोझै सहयोग पुग्छ ।

लिम्बू, (याक्थुङ) समुदायका कतिपय मानिसहरु उपनिवेशकारी जातिवादी शासकहरुको नीति तथा बिचारबाट सन्चालित बिभाजनकारी काम गर्न खटिएका पनि होलान र हुन सक्छन् ।

तिनीहरुबाट त्यस्तो काम गर्न प्रयास गर्नु अस्वभाविक हुदैन किन भने तिनीहरु त्यहि काम गर्न भनेर खटिएका मानिसहरु हुन । तिनीहरुलाई चिन्न भने जरुरी छ ।

पहिचान

पहिचानलाई मानिसहरुले आ–आफ्नै ढंगले बुझिरहेका छन् । यसले पहिचान भनेको अन्धाहरुले हात्तीलाई छामेर फरक फरक रुपको हात्ती भने जस्तो कथा भईरहेको छ । यसर्थ पहिचानको यस्तो भास्यलाई स्पष्ट गर्न जरुरी भएको छ । यसको लागी विभिन्न किसिमका पहिचानको व्याख्या र बिश्लेषण गर्नु पर्दछ । अहिलेसम्म पहिचानका किसिम निम्न रहेको पाईन्छः
⦁ जन्मदेखीको पहिचान (Identity by birth)
⦁ सामाजिक समुह पहिचान (Social group identity)
⦁ लादिएको पहिचान (Imposed identity)
⦁ आर्जित पहिचान (Earned identity)
⦁ पहिचान जतिन नाम पहिचान (Symbolic name identity)
⦁ राष्ट्र या राष्ट्रिय पहिचान (Nation or national identity)

गोत्रिय पहिचान, बंशीय पहिचान, परिवारीक पहिचान, बंशाणु पहिचान, लिंगिय पहिचान आदी सबै जन्मदेखिको पहिचान हुन । विभिन्न समुहले उठाईरहेको पहिचान यस प्रकारको पहिचानको लागी होईन ।

यसले पनि पहिचान त दिन्छ तर राजनीतिक र राज्य संरचनामा प्रतिविम्बीत गर्ने पहिचान तत्काल हुन सक्दैन ।

समाजमा विभिन्न प्रकारका समुहहरु छन् । तिनीहरुको पनि फरक पहिचान रहेको छ । उदाहरणको लागी धर्म सम्प्रदाय, अपांगता भएका मानिसहरुको समुह आदी । यिनीहरुले उठाएको मुद्धा भनेको समाबेशीकरणको हो । यस पहिचानको आधारमा राज्य संरचनाको कुरा होईन ।

पहिचानको किसिममा अर्को एउटा लादिएको पहिचान रहेको छ । उदाहरणको लागी नेपाली भन्ने पहिचान विभिन्न पहिचानका अस्तित्वमाथी लादिएको पहिचान हो ।

कसैले मेरो पहिचान र राष्ट्रियता लिम्बू हो भन्न नपाउने तर नेपाली नै लेख्नु पर्ने र उल्लेख गर्नु पर्ने अनि भन्नु पर्ने बाध्यता चाही लादिएको पहिचान हो । यस्तो लादिएको पहिचान अरु बिषयमा पनि हुन सक्छ । यस लादिएको पहिचानले राष्ट्र राज्यको कल्पना गर्दछ ।

पहिचानमा अर्को किसिम छ आर्जित पहिचान । यो जन्मैबाट प्राप्त गरेको नभई पछिल्लो समयमा आर्जन गरेको पहिचानलाई जनाउछ । उदाहरणको लागी एउटा मानिस डाक्टर या ईन्जीनियर भयो या मास्टर भयो या व्यापारी भयो या सचिव या मन्त्रि भयो यि सबै आर्जित पहिचान हुन । विभिन्न समुहले उठाईआएको पहिचान यस्तो पहिचानलाई भनिएको होईन ।

पहिचानमा अर्को किसिम छ पहिचान जनित नाम पहिचान । यो पहिचान पनि राजनीतिक तथा राज्य संरचनामा प्रतिविम्बीत हुने पहिचान हो तर नाम पहिचान मात्र हो । यसको अर्थ यो राष्ट्र या राष्ट्रिय पहिचान होईन ।

उदाहरणको लागी प्रदेश नामाकरणको सन्दर्भमा अहिले उठिरहेको किरात, लिम्बूवान, खम्बुवान, मगरात लगायतका पहिचानको कुरा पहिचान जनित नाम पहिचानको कुरा हो ।

यसले संघियताको मोडलमा भौगोलिक संघियता मोडलकै प्रतिनिधीत्व गर्दछ नाम मात्र ऐतिहासिक पृष्ठभूमी या खास जाति बिशेषलाई प्रतिनिधीत्व गर्दछ ।

यसको अर्थ यस खाले पहिचानले बर्तमानको राष्ट्र राज्य, राज्य संरचना, राज्य शासन व्यवस्था र प्रतिनिधीत्व लगायतका बिषयमा खास फरक पार्दैन । यो चाही फर्सीको गुदी भएको बाहिरी आवरण चाही खरबुजा भए जस्तो पहिचान हो । तर यस भित्र राष्ट्रिय पहिचानको आधारमा स्वायत्तता भित्र स्वायत्तताको अवधारणा अनुसारको मोडल बनाउन सकिए त्यो भने नाम पहिचान भन्दा बढी या फरक संघियताको मोडल हुन जान्छ ।

पहिचानको किसिममा राष्ट्र या राष्ट्रिय पहिचान महत्वपुर्ण छ । यस खाले पहिचानले बर्तमानको राष्ट्र राज्य, राज्य संरचना, राज्य शासन व्यवस्था र प्रतिनिधीत्व लगायतका बिषयमा आमुलरुपमा फरक पार्दछ । उदाहरणको लागी लिम्बू समुदायलाई अनुकुल हुने गरि सिमान्कन भएको लिम्बूवान राज्य जस्ले राज्यको तहमा बहुलराष्ट्र राज्यको माग गर्दछ भने बहुलराष्ट्रिय राज्य संरचनाको माग गर्दछ ।

यसैगरि, यसले राज्य शासन व्यवस्थामा बहुलराष्ट्रिय राज्य शासनको माग गर्दछ भने राज्य शासनमा पनि विभिन्न राष्ट्रहरु र पहिचानका अस्तित्वको प्रतिनिधीत्वको माग गर्दछ ।

राज्य तथा संघियताको सन्दर्भमा पहिचानको कुरा गरिएको यहि राष्ट्र या राष्ट्रिय पहिचानको कुरा हो । यसले संघियताको मोडलमा बहुलराष्ट्रिय संधियताको मोडलको प्रतिनिधीत्व गर्दछ ।