काठमाडौँ, १८ भदाै। चाडपर्वलाई लक्षित गरेर सुपथ पसल आगामी असोज १ गतेदेखि सञ्चालन हुने भएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थान (डीडीसी)ले संयुक्त रूपमा चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि असोज १ गतेदेखि कात्तिक १५ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो ।
उपत्यकासँगै बाहिरी जिल्लामा पनि सुपथ मूल्य पसल सञ्चालन गरिने बताइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले चाडपर्वमा उपभोक्तालाई राहत दिन सुपथ मूल्य पसल सञ्चालन गरिएको जानकारी दिनुभयो । सुपथ मूल्य पसलमा उपभोक्ताले छुट पाउने उहाँले जानकारी दिनुभयो ।
चाडपर्वमा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको खपत बढी हुने हुँदा उपभोक्तालाई राहत दिन सहुलियत पसल सञ्चालन गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
मन्त्रालयका अनुसार चामल, दाल, आटा, पिठो, मैदा, तेल, चिउरामा प्रतिकेजी सात रुपियाँ छुट दिइएको छ ।
यस्तै चिनी प्रतिकेजीमा पाँच रुपियाँ र नुन प्रतिकेजीमा दुई रुपियाँ छुट दिएको छ । जुम्लाको सिमी, गेडागुडीमा प्रतिकेजी १० रुपियाँ छुट दिइएको छ । खसीबोका र च्याङ्ग्रामा प्रतिकेजी १० रुपियाँ छुट दिइएको छ ।
यस्तै डीडीसीबाट वितरण हुने घिउ प्रतिकेजीमा ५० रुपियाँ, पनिररचिज प्रतिकेजीमा २० रुपियाँ र दही प्रतिकेजीमा १० रुपियाँ छुट दिइएको छ ।
खाद्य कम्पनीले मुलुकभर ४१ वटा आफ्ना बिक्री केन्द्रबाट सुपथ मूल्यमा खाद्यान्न वितरण गर्नेछ । यस्तै कम्पनीले उपत्यकामा सात स्थानबाट सामान वितरण गर्नेछ ।
साल्ट ट्रेडिङ कर्पोरेसनले मुलुकभर रहेका २४ बिक्री केन्द्र र उपत्यकामा सात स्थानबाट सामान वितरण गर्नेछ । डीडीसीले उपत्यकाका न्युरोड, लैनचौर, खुमलटार र उपत्यकाबाहिर सात ठाउँबाट सुपथ मूल्यमा बिक्री गर्ने जनाइएको छ ।
उपत्यकामा घुम्ती सेवामार्फत सुपथ मूल्यमा सामान बिक्री गरिने जनाइएको छ ।
चाडपर्वमा उपभोक्तलाई सहुलियत दिन खाद्य कम्पनीलाई दुई करोड ३२ लाख र साल्ट्र टे«डिङ कर्पोरेसनलाई एक करोड रुपियाँ छुट्याएको मन्त्रालयले जनाएको छ ।
उपभोक्तालाई छुट दिएबापतको रकम जति हुन्छ, त्यति सरकारले शोधभर्नाबापत उपलब्ध गराउने गर्छ ।
यो खबर आजको गोरखापत्र दैनिकमा छ ।