तेह्रथुम, १८ भदौ। नेपाली काँग्रेस तेह्रथुमबाट नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारका लागि तीन जनाको नाम सिफारिस भएको छ ।
शुक्रबार बसेको काँग्रेस जिल्ला कार्यसमितिको बैठकले प्रतिनिधिसभाको उम्मेदवार बन्न तीन नेताहरुको नाम प्रदेश सममितिमा पठाएको हो ।
जसमा पूर्वसांसद तथा काँग्रेस महासमिति सदस्य तुलसी सुब्बा, पूर्वराज्यमन्त्रीसमेत रहेकी केन्द्रीय सदस्य सीता गुरुङ र अर्का महासमिति सदस्य हरिप्रसाद डाँगीको नाम सिफारिस भएको काँग्रेस तेह्रथुमले जनाएको छ ।
प्रतिनिधिसभामा प्रत्यक्षतर्फ तेह्रथुममा एकमात्रै निर्वाचन क्षेत्र छ । प्रदेश कार्यसमितिमा पठाइएको उक्त सिफारिसलाई पार्टीको विधानबमोजिम अब प्रदेश कार्यसमितिले राय राखेको आधारमा केन्द्रीय संसदीय समितिले एक उम्मेद चयन गर्नेछ ।
गएको निर्वाचनमा तेह्रथुमबाट वाम गठबन्धनबाट एमालेका भवानीप्रसाद खापुङ निर्वाचित भएका थिए । एमाले विभाजित बनेर गठन भएको नेकपा एकीकृत समाजवादीमा छन् ।
अहिले सत्ता गठबन्धनले भागबण्डा टुङ्ग्याउन सकिरहेको छैन । यदी भागबण्डाको क्रममा तेह्रथुममा नेकपा एकीकृत समाजवादीले पाए हालका स्वस्थ्यमन्त्री समेत रहेका सांसद भवानी प्रसाद खापुङ स्वत: उम्मेदवार बन्नेछन् ।
त्यस्तै काँग्रेसको भागमा परे सुब्बा र गुरुङमध्ये एकले पाउने विश्चित छ । सुब्बा शेखर कोइराला निकटका नेता हुन् भने गुरुङ सभापति देउवा निकटकी नेतृ हुन् ।
त्यस्तै नेपाली काँग्रेसले समानुपातिक तर्फ पनि ५ जनाको नाम सिफारिस गरेको छ । जसमा गणेश विमली, रामनारायण ढुंगाना, शिवप्रसाद भट्टराई, अर्जुन तुम्बाहाम्फे र विष्णुमाया आचार्य छन् ।