एमाले तेह्रथुम : प्रतिनिधिसभा सदस्य प्रत्यक्षमा डा. सुब्बा र कन्दङ्वामा एक !

कृष्ण कन्दङ्वा, तेह्रथुम, १८ भदौ । आगामी मंसिर ४ गते हुने प्रदेश र केन्द्रको निर्वाचनका लागि जिल्लाबाट उम्मेदवार सिफारिस हुनेक्रम जारी छ ।

तेह्रथुम जिल्लाबाट हालसम्म नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले प्रदेश र केन्द्रका लागि प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको नाम सिफारिस गरिसकेको छ ।

उता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने आफ्ना उम्मेदवार सिफारिस गरिसकेको छैन । एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी भदौ २२ गतेसम्ममा उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिइसकेका छन् ।

जिल्लामा पार्टीगत हिसाबले हेर्दा बलियो मानिएको एमालेमा तेह्रथुमबाट को उम्मेदवार बन्ने भन्ने आम चासो बनेको छ । आगामी भदौ २२ गते जिल्लाबाट प्रदेश र केन्द्र दुवैतर्फका समानुपातिक र प्रत्यक्ष दुवैतर्फका उम्मेदवारहरुको नाम सिफासिर गर्ने तयारी भइरहेको एमाले जिल्ला अध्यक्ष तेजमान कन्दङ्वाले बताए ।

उनले आफू पनि प्रतिनिधिसभाको सदस्यको उम्मेदवारको लाइनमा रहेको बताए । उनी हाल प्रदेश – १ सभासदस्यसमेत छन् ।

त्यस्तै एमाले तेह्रथुमका अर्का नेता डा. विजय सुब्बा पनि प्रतिनिधिसभा सदस्यको उम्मेदवारको लाइनमा छन् । सुब्बा नेकपा एमाले निर्वाचन समिति संयोजक हुन् ।

त्यस्तै तेह्रथुमकै प्रदेशसभा सदस्य लछुमन तिवारी पनि प्रतिनिधिसभ सदस्यको लाइनमा रहेको बुझिएको छ । सम्भवत यीनै तीन जनाको नाम जिल्लाबाट सिफासिर हुने सम्भावना छ । यद्यपि अध्यक्ष केपी शर्मा ओलीको निकट रहेका सुब्बा र कन्दङ्वाबीच नै टिकटका लागि कडा प्रतिस्पर्धा हुने धेरैको अनुमान छ ।

अध्यक्ष ओलीको जन्मजिल्ला पनि तेह्रथुम हो । कन्दङ्वा र सुब्बा मध्ये एकजनाले नै आगामी निर्वाचनमा तेह्रथुमबाट टिकट पाउने एमाले केन्द्रमा पनि चर्चा छ । २०७४ सालकाे निर्वाचनमा वाम गठबन्धनबाट विजयी भएका एमालेका सांसद भवानीप्रासद खापुङ अहिले नेकपा (एकीकृत समाजवादी)मा छन् ।