काठमाडौं, १९ भदौ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन र शासन पद्धति परिवर्तन गर्न चुनावपछि सडकमा जाने घोषणा गरेका छन् ।
नेपाली मार्गचित्र विषयक कार्यक्रममा बोल्दै उनले शासन पद्धति र निर्वाचन प्रणाली बदल्न चुनाव पछि सडकमा जाने बताएका हुन् ।
‘चुनावपछि यो प्रणाली बदल्न सडकमा जान्छु । सडकबाटमात्रै संविधानमा हामीले व्यवस्था गरेको समाजवाद प्राप्त गर्न र यो मेसिनरी बदल्न जनताको बीचमा जानुको विकल्प छैन,’ उनले भने ।
प्रचण्डले अहिलेको निर्वाचन प्रणाली कायमै रहे देश भ्रष्ट्राचारको भुमरीमा पर्ने बताए ।
‘अहिलेको निर्वाचन प्रणालीलाई कामयै राख्ने, अनि बडो भ्रष्टाचारमुक्त, विचलन र विकृतिमुक्त समाजको कल्पना गर्नुभयो भने त्यो सम्भव छैन,’ उनले भने ।