काजीमानको प्रतिमा रहेको हाटडाँडामा २५ गतेदेखि औपचारिक रुपमा औसी–पूर्णिमा मेला

  • कृष्ण कन्दङ्वा

तेह्रथुम, २१ भदौ । तेह्रथुमको आठराई गाउँपालिका वडा – ६ स्थित हाटडाँडामा अबदेखि प्रत्येक महिनाको औँसी पूर्णिमामा मेला (बजार) लाग्ने भएको छ ।

नवनिर्मित काजीमान कन्दङ्वाको प्रतिमा रहेको स्थान हाटडाँडामा भदौ २५ गतेदेखि औपचारिक रुपम औसी-पूर्णिमा (बजार) लाग्ने भएको हो ।

बजारको उद्घाटन २५ गते नै वडाध्यक्ष कृष्णप्रसाद बाँस्कोटाले गर्नुहुने भएको हो । केही दिन अघि बसेको औसी-पूर्णिमामा मेला व्यवस्थापन समितिको बैठकले २५ गतेको पूर्णिंमादेखि औपाचारिक रुपमा मेला लागाउन निर्णय गरेको समिति अध्यक्ष चन्द्र कन्दङ्वाले बताउनुभयो ।

परापूर्वकालमा लाग्दै आएको औसी-पूर्णिमालाई पुनर्उत्थान गर्ने उदेश्यले (बजार) लगाइन लागेको अध्यक्ष कन्दङ्वाको भनाइ छ ।

‘यहाँ हाम्रो पूर्खाहरुले वि.स. २००० साल अघितिरै औँसी पूर्णिमा (बजार) लगाउने गरेका थिए । पछिल्लो समय त्यसका अलावा विभिन्न नाममा मेला लागे तर विविध कारणले बजार दीर्घकालीन रहन सकेन,’ अध्यक्ष कन्दङ्वाले साझा चासोसँग भन्नुभयो, ‘अब हामीले पूर्खाको कामलाई व्यूँत्याएका छौँ यसलाई पछिल्लो पुस्ताले पनि निरन्तरता दिने आशा छ ।’

बजार व्यवस्थापनका लागि काजीमान कन्दङ्वाको प्रतिमा आसपासलाई बारले घेरेर पछाडि पट्टी वाल लगाएर बाँकी क्षेत्रफलमा बजार संचालन गरिने जनाइएको छ ।

त्यस्तै शालिकको पश्चिम उत्तर भागमा गोस (मासु व्यपार) र मदिराका लागि छुट्याइएइने र केही स्थानमा टहरा निर्माण गरिने कन्दङ्वाको भनाइ छ ।

त्यस्तै टहरा निर्माणका लागि प्रदेशमा बजेट माग भइसकेको पनि जनाइएको छ । त्यस्तैगरी भविष्यमा बजारका लागि क्षेत्रफल साँघुरो भएमा हाटडाँडाबाट प्रस्तावित चुहानडाँडा एयपोर्ट जाने बाटोतिरको भूभाग प्रयोग गरिने जनाइएको छ ।

बजार संचालन पछि आठराईका विभिन्न स्थान साथै आठराई ६ का आहाले, हातित्तखर्क, मंशारी, कात्किके, बोखिम, हिले, फलाटे, सिमखर्क चुहानडाँडा बजार लगयतका उत्पादित तरकारी तथा अन्य वस्तु किनबेचका साथै सामग्रीहरु साटसाट गर्ने थलको रुपमा स्थापित हुने आशा रहेको छ ।

भविष्यमा बजार स्थापित भएमा साप्ताहिक रुपमा संचालनसमेत गरिने योजना छ । शैक्षिक तथा राजनीतिक रुपमा उर्भर भूमि रहेको आठराईमा पछिल्लो समय एयरपोर्ट निर्माणका लागि पनि कार्य अघि बढाइदैछ ।

उक्त बजार लाग्न लागेको स्थान पहाडी राजमार्गका अन्तर्गत फिदिम–म्याङ्लुङ सडक अन्तर्गत पर्दछ । फिदिम देखि तेह्रथुमको आठराई चुहानडाँडा पुग्दा तमोर तरेर उकालो काट्दा पुगिने डाँडा नै हाट डाँडा हो ।