काठमाडौं, २२ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीच सार्वजनिक कार्यक्रममै सवाल जवाफ भएको छ ।
अनेरास्ववियु क्रान्तिकारीको फोर्स घोषणा कार्यक्रममा प्रचण्डले पदाधिकारी टुंगो लगाउदै देखिको विषयलाई लिएर सरकारका अर्थमन्त्रीसमेत रहेका शर्मा र अध्यक्ष प्रचण्डबीच घोचपेचको भाषामा दोहारी चलेको हो ।
शर्माले माओवादीको उपमहासचिव पद पनि अस्वीकार गरेका छन् । उनले सार्वजनिक कार्यक्रममै म उपमहासचिव नभइ संगठन प्रमुखको हैसियतले बोलेको भन्दै कार्यक्रमलाई सम्बोधन गरे ।
प्रचण्डलाई रोकेर भाषण गर्न मञ्चमा पुगेका शर्मालाई विद्यार्थीले ताली बजाएर हुटिङ गर्दा उनले ‘नबजाऊ ताली, मलाई तालीदेखि डर लाग्छ, नगर गाली मलाई गालीदेखि रिस उठ्छ’ भन्दै मन्तव्य सुरु गरेका थिए ।
के भने जनार्दनले ?
हामीले लाइनको कुरा सुनेर संगठनमा निर्णय गर्ने होइन । स्वार्थ पूर्ति गर्न नेतृत्वलाई बहकाउन सक्छन् कसैले । म नीति र नेतृत्वलाई सधैँभरि रक्षा गर्ने मान्छे हुँ । सही नीति र नेतृत्वको अहिले पनि रक्षा गर्ने मेरो दायित्व हो । नीति र नेतृत्व पनि सही ढंगले बढ्नुपर्छ भन्ने मेरो मान्यता हो । म त अध्यक्षको कडा आलोचक पनि मै हुँ र सबैभन्दा बढी संरक्षक र रक्षा गर्ने मान्छे पनि मै हो । अध्यक्षले यही मञ्चमा उभिएर अहिले यसको जवाफ दिनुहोला । पार्टीको नीति र नेतृत्वको रक्षा गर्न सकिएन भने आन्दोलन अघि बढ्न सक्दैन । नेतृत्वको कमजोरीको आलोचना गर्नुपर्छ । म त प्रचण्ड कमरेडको कडा आलोचक हुँ,आलोचना गर्छु । आलोचनाले नेतृत्वको रक्षा गर्छ,चाकडीले होइन । आलोचनाले नेतृत्वको रक्षा गर्छ चाकडीले होइन
जनार्दनपछि बोल्न उभिएका प्रचण्डले आफ्नो भनाइ सक्ने क्रममा हल्का आक्रोशित मुद्रामा जवाफ दिँदै जनार्दनलाई हुर्काउन र रक्षा गर्न आफ्नो मुख्य भूमिका रहेको बताए ।
प्रचण्डको जवाफ के थियो ?
जनार्दनजीले जाँदा जाँदै भन्नुभयो, यो पार्टीको नीति र नेतृत्वको रक्षाको कुरा । म म तपाईँहरूलाई के भन्न चाहन्छु भने जनार्दनलाई रक्षा र हुर्काउन पनि प्रचण्डको मुख्य भूमिका हो भन्ने कुरा बुझ्न जरुरी छ । उनको रक्षा र विकास गर्न पनि प्रचण्डले मुख्य भूमिका खेलेको छ । म त जनयुद्धको तयारीको पनि नेतृत्व गरेँ, जनयुद्धको पनि नेतृत्व गरेँ । शान्ति प्रक्रिया र संविधानसभाको पनि नेतृत्व गरेँ । संघीय लोकतान्त्रिक गणतन्त्रको पनि नेतृत्व गरेँ । मेरो लागि त धेरै चीज भएकै छ । मेरो चाहना राम्रा उत्तराधिकारीहरू आउन्,नेतृत्व गरुन्,हाम्रो विरासत र हाम्रो परम्परालाई अगाडि बढाउन ठूलो छातीका साथ अगाडि बढुन् भन्ने हो ।