काठमाडौं, २३ भदौ । नेकपा एमाले तेह्रथुमले प्रतिनिधिसभातर्फ र प्रदेशसभा दुवैको उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।
बुधबार बसेको एमाले जिल्ला कमिटी बैठकले प्रतिनिधिसभाका लागि एमाले तेह्रथुमअध्यक्षसमेत रहेको प्रदेशसभा सदस्य तेजमान कन्दङ्वा र डा. विजय सुब्बा सिफारिस गरेकाे हाे । आ–आफ्नो दावेदारीबाट दुवै नेता पछि नहटेपछि टिकटका लागि प्रतिस्पर्धा हुने भएको हो ।
एमाले केन्द्रीय निर्वाचन आयोगका प्रमुख समेत रहेका सुब्बाले साझा प्रकाशनको नेतृत्वसमेत गरिरहेका छन् । प्रयजसो काठमाडौंमै बसेर एमाले राजनीति गरेका सुब्बाको जिल्लागत प्रभाव कमै रहेको एमालेकै नेता तथा कार्यकर्ताहरुको दावी छ । यद्यपि उनी पछिल्लो समय अध्यक्ष केपी ओलीको विश्वास पात्रका रुपमा काम गरिरहेका छन् ।
२०६९ सालमा नेकपा एमाले विभाजन हुँदा अशोक राई खेमामा लागेका सुब्बा पछि उनी पुन एमालेमै समाहित हुन पुगेका थिए । नेकपा (एमाले) जातिय र वर्गिय मुक्ति आन्दोलनको पक्षमा भएको पार्टी भएपनि सुब्बालाई त्यसको विपक्षमा उभिने गरेको व्यक्ति भनेर बात लाग्ने गरेको छ ।
औपचारिक पढाएमा पीएचडी गरेका सुब्बाको बौद्धिकता भने कमजोर आँक्न सकिँदैन ।
उनी यसअघि जिल्लाबाट ०४८ र ०५६ मा दुई पटक प्रत्यक्षतर्फ निर्वाचित भइसकेका नेता हुन् । तरपनि जिल्लाको विकास र संगठनात्मक पक्षमा उनीसँग जिल्लाबासी त्यति सन्तुष्ट छैनन ।
त्यस्तै अर्का प्रत्यासी तेजमान कन्दङ्वाको पनि पोर्टफोलियो कमजोर छैन । एमाले तेह्रथुमको वर्तमान अध्यक्षसमेत हुन् । उनले यसअघि पनि एमाले तेह्रथुम अध्यक्षको जिम्मेवारी बहन गरिसकेका थिए ।
उनी २०७४ सालको वाम गठबन्धनबाट तेह्रथुम (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित सांसद हुन् । उनी त्यो बेला प्रतिनिधिसभा सदस्यको दावेदार रहेपनि अन्तिममा पार्टीले प्रदेश उम्मेदवार बनायो ।
त्यस्तैगरी कन्दङ्वाले जिल्ला विकास समितिको उपसभापतिको रुपमा पनि काम गरिसकेका छन् । तुलनात्मक रुपमा उनलाई जिल्लाको विकास निर्माण कार्यमा लामो समयदेखि लगातार सक्रिय रहेका नेताको रुपमा जनताले बुझ्ने गरेका छन् ।
सुब्बा र कन्दङ्वा मध्ये तेह्रथुम एमालेमा कस्ले टिकट पाउने भन्ने निर्णय अब पार्टी केन्द्रले नै गर्ने छ । यद्यपि अध्यक्ष ओलीकै जन्म जिल्लासमेत रहेको तेह्रथुममा टिकटका लागि सुब्बा र कन्दङ्वबीच भने कडा टक्कर हुने निश्चित छ ।
२०७४ मा तेह्रथुमबाट वाम गठबन्धनबाट निर्वाचित सांसद भवानीप्रसाद खापुङ नेकपा एकीकृत समाजवादीमा छन् । करिब आधा सताब्धिकाे इतिहास हेर्ने हो भने तेह्रथुम एमालेको गढ नै हो ।
यहाँ २०१५ र २०६४ बाहेक सबै चुनावमा एमाले विजयी भएको छ । तर यस पटक भने पाँचदलीय गठबन्धन सामु एमालेलाई चिर्वाचन जित्न त्यति सजिलो छैन ।