कास्की, २४ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विद्येयक प्रमाणिकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्ने बताएका छन् ।
पोखरामा सञ्चारकर्मीहरुसँग बोल्दै अध्यक्ष प्रचण्डले संसदको दुवै सदबाट दुई दुई पटक अनुमोदन भएको विद्येयक अब प्रमाणिकरणका लागि राष्ट्रपतिलाई बाध्यात्मक बनिसकेको जिकिर गरे।
यदी राष्ट्रपतिले विद्येयक पास नगरे दुई कुरा हुने उनको भनाइ थियो । एक राजीनामा र अर्को अदालतको सामना ।
‘राष्ट्रपतिले प्रमाणीकरण नगर्ने सम्भावना पनि छ । प्रमाणीकरण नगरे यो विषय अदालत जाने सम्भावना पनि छ । दोस्रो कुरा, उहाँले राजीनामा दिने विकल्प रहन्छ, उनले भने’
राष्ट्रपतिले नागरिकता विधेयकलाई प्रमाणीकरण नगरी फिर्ता गरेपछि सदनबाट जस्ताको तस्तै पारित गरी प्रमाणीकरणका लागि दोस्रो पटक राष्ट्रपति समक्ष पठाइएको छ ।
कानुन अनुसार राष्ट्रपतिले नागरिकता विद्येयकलाई पास गर्ने पनि अध्यक्ष प्रचण्डले विश्वास व्यक्त गरे ।