कविता : तिमी, म, हाम्रा भिन्नता र माया

तिमी उज्यालोको किरण अनि म अन्धकार, भेट त सम्भव नहोला
तर त्यो मधुर साँझ अनि मिरमिर प्रभातमा
एकैछिन नजर साटौँ न है ?

तिम्रो नजरको न्यानोपन म थोरै लिउँला
मेरो नजरको शीतलता तिमीले लैजानु

एकैपल भएपनि तिम्रो उज्यालो भित्र लुकेको तापले
मेरो कठ्याङ्गरिएको शरीर सेकिदिनु
अनि तापले पिल्सिएको तिम्रो शरीर मैले फुकिदिउँला।

हुन त पिल्सिएको तिम्रो शरिरको छाला भन्दा धेरै मन पोल्दो हो
जसरि मेरो शरीर भन्दा मन धेरै कठ्याङ्गरिएर काँप्ने गर्छ
म मेरो धमिलोपनमा तिम्रो सबै पिडा घोलिदिउँला
तिमी मेरा अँध्यारा पिडाहरु आफ्नो उज्यालोले मेटाइदिनु
मैले मेरा अदृश्य भावनाहरु मौनतामै बोलिदिउँला
अनि तिमी ती भावनाहरुलाई तिम्रा उज्याला आशाका किरणहरुसँग भेटाइदिनु

०००

कस्तो अचम्म है, जुन संगीत मार्फत तिम्रो स्वागत हुन्छ
त्यही संगीतले मेरो बिदाई
सबेरै गुन्जिने प्रकृतिको मीठो संगीत अनि भजनका रागहरुमा म शीतल मुस्कान सहितको माया पठाइदिउँला
तिमी त्यो शीतल माया तापिरहनु
दिनभरिको कोलाहल अनि चिच्याहटले थकाउला तिमिलाई
बिहानको त्यो मीठो संगीत अनि भजनका रागहरुमा ओतप्रोत शान्तिको आभास आँफूभित्र साँचिरहनु
०००

दिन ढलेसँगै तिम्रो उज्यालो रंग जब केही पहेंलो, केही सुन्तला रंग जस्तो अनि केही रातो हुँदै जान्छ,
म ती रंगहरुमा झल्किएको तिम्रो सुन्दरता मात्र हैन
रंगमा लुकेका गहिरा, केही मिठा,केही तीता, केही खल्ला, केही अनेक स्वादहरुले भरिपुर्ण अनि केही स्वादहिन
तिम्रा भावनाहरु बुझिदिउँला
तिमी मिठा र सुन्दर भावनाहरु आफू संगै राख्नु,
बाँकि सारा भावनाहरु मेरो अन्धकारभित्र पोखिदिनु

०००

साँझको शीतल हावामा तिम्रा उज्याला खाली पानाहरु म कहाँ पठाइदिनु
म मेरा केही गहिरा, अँध्यारा अनि धमिला भावनाले सबै पानाहरु भरिदिउँला
सन्ध्यारुपी तिम्रो त्यो रंगिन उज्यालो बत्तिमुनि मेरा धमिला अक्षररूपी भावना राखी पढिदिनु

म टाढैबाट हेरर रमाइरहुँला
बेलाबेला थाहा नपाए जस्तै गरि ती नजरहरु म तिर पनि मोड्नु
क्षितिजको बारबाट म तिमिलाई चिहाइरहुँला
तिमी मौनताको सुस्केरा लगाइरहनु
म त्यहि सुस्केरामा भाका मिलाइरहुँला

०००

तिमी आवाज, म मौनता
तिमी रंग, म अन्धकार
तिमी खुलेको हाँसो, म आवाजबिहिन मुस्कान
तिमी इन्द्रेणी, म बादल
तिमी सुन्दरता, म नजर
हेर न कति फरक छौँ हैरु एकदमै बिपरित एकअर्काको
तर यिनै भिन्नताहरु हामी सँधै संगै मिलेर समेलिरहुँला
बिहान र साँझको लुकामारी यसैगरि खेलीरहुँला

०००

रातमा मेरो कालो रंगको सन्नाटा रहुन्जेल पर्खाइको घडी हेरि मन बुझाइरहनु,
मेरो सास प्रभातमा तिमिलाई उपहार दिउँला
चम्किलो तिम्रो अदा लिई साँझसम्म उदाइरहनु
झमक्क साँझ संगै तिमिले छोडेको त्यही सास उपहार स्वरुप फेरि आँफै लिउँला
एकैपलको भेटको लागि लामो पर्खाइ सहिरहुँला
एकअर्काको केही नभएपनि कोहि बनेर रहिरहुँला
तिम्रो न्यानोपन र मेरो शीतलता यसैगरि साटिरहुँला
टाढाबाट नै सहि एकअर्कालाई हेरेर, मौनतामै बोलेर, सुनेर, माया गरेर जीवन काटिरहुँला

भिडियो