जुनसुकै अवस्थमा चुहानडाँडामा विमानस्थल बन्नुपर्छ : अध्यक्ष पाहिम

तेह्रथुम, २६ भदौ । आठराई गाउँपालिका अध्यक्ष दिकुमार पाहिमले चुहानडाँडा थुम्की एयरपोर्ट निर्माणका लागि आफूले कुनै पनि कसुर बाँकी नराख्ने वचन दिएका छन् ।

शनिबार नेपाल नागरिक उड्डयन प्राधिकरणले आठराई ६ चुहानडाँडामा आयोजना गरेको थुम्की विमानस्थलको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै उनले एयरपोर्ट निर्माण कार्यका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘एयरपोर्ट निर्माणका लागि म र गाउँपालिकाको तर्फबाट जस्तोसुकै सहयोग गर्न पनि पछि हट्ने छैनाैँ,’ अध्यक्ष पाहिमले भने, ‘ चुहानडाँडामा जुनसुकै अवस्थामा पनि विमानस्थल निर्माण हुनुर्छ।’

थुम्की चुहानडाँडा प्रस्तावित विमानस्थल आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयारीको सिलसिलमा छ ।

शनिबार वातावरण संरक्षण ऐन २०७६ दफा ३ को उपदफा (५) तथा वातावरण संरक्षण नियमावली २०७७ को नियम ६ बमोजिम प्रस्ताव कार्यान्वयन हुने स्थानमा सार्वजनिक सुनुवाइ गर्नुपर्ने प्रावधान अनुरुप यस आयोजना मार्फत प्रस्तावित आयोजनाबाट प्रभावित हुने आठराई गाउँपालिका तथा वडा न. ६ का प्रतिनिधिहरु स्थानीय सरोकारवालाहरुसँग छलफल गरिएको थियो ।

चुहानडाँडामा २०३२ सालदेखि नै एयरपोर्ट बन्ने चर्चा छ । यद्यपि निर्माण कार्यले भने गति लिन सकेको छैन ।

यसअघि गाउँपालिका अध्यक्ष पाहिमसहितको टोलीले एयरपोर्ट निर्माणका लागि पहल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको पनि ध्यानाकर्षण गरेको थियो ।