काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू पहाड कास्कीबाट खान नपुगेर तराई झरेको बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफू गरिब परिवारमा जन्मिएर पनि २ पटक प्रधानमन्त्री भएको बताएका छन् ।
उनले कुनै उद्देश्य बनाए सफलता प्राप्त गर्न सकिने बताएका हुन्।
‘म आफ्नो विगत र इतिहासलाई फर्केर हेर्छु म कास्कीमा गरिब परिवारमा जन्मेको हुँ । खान लाउन नपाउने भएपछि चितवन सरेको हो,’ उनले भने ‘मेरो पढाइ लेखाइ सबै त्यहीँ भयो। एसएलसी गर्दैगर्दा युवाहरू छलफल भयो। त्यहाँ राजनीतिलाई ट्र्याकमा ल्याउन आवश्यक भन्ने निष्कर्षको साथ लागेको हुँ।’
उनले आफूले युवा अवस्थामै सपना देखेको र मुलुकलाई लोकतान्त्रिक गणतन्त्रमा पुर्याउने सफल भएको जिकिर गरे ।
उक्त अठोट अझै कायम रहेको बताउँदै उनले युवाहरुलाई पनि सपना देख्न र सफल हुन आग्रह गरे ।
‘म पहाडमा खान नपुगेर चितवन झरेको बच्चा अहिले गणतन्त्र नेपालको दुई पटक प्रधानमन्त्री भइसके। म गौरव ठान्छु,’ उनले भने ।