गुल्मी, २७ भदौ । गुल्मीमा नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीलाई टिकट पाउन धर्मसंकट भएको छ ।
सत्ता गठबन्धनमा रहेको दल समाजवादीकी नेतृ झाँक्री गुल्मीकी ह्यावी वेटकी नेतृ हुन् । तर गठबन्धनमा रहेको दोस्रो दल नेकपा माओवादी केन्द्रले गुल्मीमा छाड्ने संभावना छैन । किनकी स्थानीय तहको मत परिणाम हेर्दा माओवादीले रोल्पापछि सबैभन्दा बढी मत प्राप्त गरेको जिल्ला हो ।
गठबन्धनको सीट बाँडफाँट थप पेचिलो बन्दै गएको बेला झाँक्रीले गुल्मीबाट टिकट पाउने सम्भावना घट्दै गएको हो ।
गुल्मी – २ मा झाँक्री उनको पार्टीबाट सिफारिस भएकी छन् ।
यसअघि झाँक्रीको लागि गठबन्धनमा अन्य दलले दाबी नगर्ने भनिएको थियो । तर माओवादीले नयाँ ट्वीष्ट गर्दै अब गुल्मीमा अरु दलका लागि माओवादीले नछोड्ने भएको छ ।
बिहीबार कार्यदलमा माओवादीले औपचारिक रुपमै दावी पेश गरेको छ । गुल्मी – २ मा नेकपा एसको मत १२ सयको हारहारीमै मात्रै रहेको बताइएको छ । उता एमालेको भने करिब ३२ हजार रहेको सर्वेक्षण छ । त्यस्तै काँग्रेसको २२ हजार र माओवादीको १० हजारको हारहारीमा मत छ ।