खानेपानी संस्थानमा आफन्तदेखि कुल–कुटुम्बसम्मलाई भर्ति गदै खानेपानी मन्त्री !

काठमाडौं, ३० भदौ । खानेपानी मन्त्री उमाकान्त चौधरीले निर्वाचन नेपाल खानेपानी संस्थानलाई आफन्त भर्तिकेन्द्र बनाउने अन्तिम तयारी गरेको खुलासा भएको छ ।

उनले आचारसंहिताविपरीत संस्थानमा आफन्त भर्ति गर्ने अन्तिम तयारी गरेको स्रोतले बताएको छ ।

गत चैत १ गते संस्थानले १ तहदेखि ३ तहसम्मका लागि ४६ जना कर्मचारीको दरखास्त आव्हान गरेको थियो । उक्त कोटामा ११ सय ५८ जनाले फारम भरेका थिए । त्यसको लिखित तथा मौखिक परीक्षामा सेटिङ गरेर आफन्त तथा कुटुम्बहरुको मात्रै नाम निकालिएको बताइएको छ ।

‘पास हुने अधिकांश व्यक्तिहरू खानेपानीमन्त्री चौधरीका आसेपासे मात्रै रहेका छन्,’ स्रोतले बतायो ।

त्यस्तै नेपाल खानेपानी संस्थानका अध्यक्ष गुणाखर भुसालले मन्त्री चौधरीको निर्देशनअनुसार ३ वटा परीक्षा केन्द्रमा पास गर्नुपर्ने व्यक्तिहरूको लिस्ट नै पठाएको खुलेको छ ।

परीक्षा समितिमा पनि आफूअनुकूलका व्यक्तिहरू राखेको बुझिएको छ ।

लिखित तथा मौखिक परीक्षालाई औपचारिकता मात्रै बनाएर आफ्ना आफन्त देखि कुलकुटुम्ब अनि कार्यकर्तासमेत भर्ति गर्न लागेको बताइएको छ । अहिले यही विषयले खानेपानी बोर्डमा खैलाबैला मच्चिएको छ ।

त्यस्त निर्वाचन आयोगले भदौ २० गते सूचना जारी गर्दै कर्मचारीको नियुक्ति, सरुवा र बढुवाजस्ता कामहरू तत्काल रोक्न सरकारलाई निर्देशन दिएको थियो ।

त्यसलाई लत्याउँदै मन्त्री चौधरीले आफ्ना मान्छे भर्ना गर्नका लागि प्रक्रिया अगाडि बढाउन दबाब दिएका हुन् ।