चितवन, ३० भदौ । चितवन माओवादी केन्द्रका सहइन्चार्ज तथा केन्द्रीय सदस्य यमबहादुर परियार (इन्द्रजीत) एमाले प्रवेश गरेका छन् ।
एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उनी एमाले प्रवेश गरेका हुन् ।
उनी एमाले र माओवादी एकतापछि बनेको नेकपाको चितवन जिल्ला अध्यक्ष थिए ।
त्यस्तैगरी उनी पाँच पटक माओवादी पार्टीको चितवन जिल्ला अध्यक्ष तथा सेक्रेटरी भइसकेका नेता हुन् ।
उनीसँगै परियारसहित माओवादी जनमुक्ति सेनाका तत्कालीन ब्रिगेड कमाण्डर अन्जन तिमल्सिना पनि एमाले प्रवेश गरेका छन् ।
उनीहरुलाई अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डेलगायतका नेताहरुले एमालेमा स्वागत गरे ।