चुहानडाँडा एयरपोर्ट : प्राधिकरणले ईआईएका लागि माग्यो सरोकारवालासँग सुझाव

तेह्रथुम, ३१ भदौ । तेह्रथुमको आठराई गाउँपालिका ६ चुहानडाँडामा एयरपोर्ट निर्माणका लगि नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजनाको वातावरणीय अध्ययन प्रतिवेदनका लागि सरोकारवालासँग सुझाव माग गरेको छ ।

शुक्रबार एक सूचना जारी गर्दै चुहानडाँडा विमानस्थलको वातावरणीय अध्ययन प्रतिवेदन (ईआईए)का लागि आयोजनाले सरोकारवालासँग सुझाव माग गरेको हो।

यसअघि प्राधिकरणले चुहानडाँडामा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको थियो ।

त्यसको केही दिनपछि नै आयोजनाले यस भेगको प्राकृतिक, भौतिक, जैविक, सामाजिक, सांस्कृतिक र आर्थिक प्रणालीमा पार्ने प्रभावबारे प्राधिकरणले सरोकारवालाबाट सुझाव मागेको हो ।

प्राधिकरणका अनुसार चुहानडाँडा विमानस्थलमा ६४० मिटर लामो र २० मिटर चौडाइको धावनमार्ग बन्नेछ । त्यस्तै ३० मिटर लामो र १५ मिटर चौडाइको ट्याक्सी वे बन्ने छ ।

जहाज पार्किङ गर्न ६० मिटर लामो र ३० मिटर चौडाइको एप्रोन बन्ने प्राधिकरणले उल्लेख गरेको छ ।

साथै विमानस्थल टर्मिनल, स्टाफ क्वाटर, पार्किङसहितका संरचना समेत बन्ने जनाइएको छ । विमानस्थल कुल ११ हेक्टर क्षेत्रफलमा बन्ने छ । बि.स २०३२ सालबाटै चुहानडाँडामा एयरपोर्ट निर्माण हुने चर्चा थियो । तर त्यसयता विभिन्न प्रयासहरु भएतापनि निर्माण कार्य सुरु भएको छैन । तर अब भने एयरपोर्ट कार्यले निश्चित रुपमा गति लिनेमा स्थानीय आशावादी छन् ।

चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययनका सिलसिलामा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहितका उच्च पदस्थ अधिकारीले हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका थिए ।