तेह्रथुम, १ असाेज । तेह्रथुममा ५० शैश्याको सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङको पहलमा तेह्रथुमको म्याङ्लुङमा आधुनिक प्रविधियुक्त अस्पताल बन्ने भएको हो ।
स्वास्थ्य मन्त्रालयले तेह्रथुममा २०० शैश्याको अस्पताल प्रस्ताव गरेपनि प्रदेश – १ सरकारले ५० शैश्याको अस्पताल निर्माणका लागि मात्रै सहमति दिएको स्वास्थ्य मन्त्रीको स्वकीय सचिव गजेन्द्र कन्दङ्वाले बताए ।
तेह्रथुममा अस्पतालको नयाँ भवन बन्नुपर्ने र जनघनत्वको हिसाबले अहिलेलाई ५० शैश्या क्षमताकै अस्पताल उचित हुने भन्दै प्रदेश सरकारले स्वास्थ्य मन्त्रालकाे प्रस्ताव अस्वीकार गर्न असमर्थ भएकाे प्रदेश–१ का आर्थिका मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले बताए ।
तेह्रथुममा अस्पताल निर्माणका लागि स्वास्थ्य मन्त्रालयले स्रोतको सुनिश्चितता र बारम्बार आग्रह गरेपछि प्रदेश सरकारबाट ५० शैश्यामा स्तराेन्नती गर्ने निर्णय भएको बताइएको छ ।
२०० शैश्या क्षमताभन्दा मुनीका अस्पताल निर्माण गर्नुपरे प्रदेश मातहत नै हुने गर्दछ । तेह्रथुम जिल्ला अस्पताल स्तरोन्नतीका लागि प्रदेश – १ सरकारबाट समेत निर्णय भइसकेको छ ।
शुक्रबार बसेको प्रदेश–१ मन्त्रिपरिषद बैठकले तेह्रथुम र पाँचथरका जिल्ला अस्पताललाई स्तारोन्नति गर्ने निर्णय गरेको हो ।
पाँचथरमा भने ५० शैश्या क्षमताका अस्पताल निर्माण भइसकेको छ । तर तेह्रथुुममा उक्त क्षमताको अस्पताल निर्माण भइसकेको छैन ।
अब जिल्ला अस्पताल तेह्रथुमलाई नै स्तरोन्नति गर्नेगरी ५० शैश्याको अस्पताल निर्माण गरिने स्वास्थ्यमन्त्रीका स्वकीय सचिव गजेन्द्र कन्दङ्वाले बताए ।
हाल तेह्रथुम जिल्ला अस्ताल १५ शैश्या क्षमतामा मात्रै संचालन भइरहेको छ ।
अब स्तरोन्नतिका लागि स्वास्थ्यमन्त्री खापुङको समोन्वयमा प्रदेश सरकारले संगठन तथा व्यवस्थापन सर्वे (ओ एण्ड एम) स्वीकृत दिइसकेको छ ।
डाक्टर, कर्मचारी, उपकरण लगायतका आवश्यकीय वस्तु निर्धारणका लागि ओएण्डएम गर्नुपर्ने हुन्छ । संघीय सरकारको मापदण्ड र सहयोगमा प्रदेशको विज्ञ टोलीले ओएण्डएम गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अब सोही सर्भेका आधारमा चिकित्सकका परिपूर्ती र उपकरणको व्यवस्थापन हुनेछ ।
यो सँगै अब पूर्वी पहाडी जिल्ला तेह्रथुम र पाँचथरमा ५० शैया सञ्चालन भएपछि विशेषज्ञ डाक्टर र उपकरणको प्रबन्ध हुनेछ ।