काठमाडौं, ३ असोज । सरकारले निलम्बित प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबरालाई सरकारी निवास बालुवाटारबाट निकाल्ने तयारी गरेको छ ।
आइतबार सुरक्षा र सवारी साधन कटौती गरेको सरकारले अब निवास पनि छोडाउने तयारी गरेको हो ।
निलम्बनकै अवस्थामाा सर्वोच्च अदालत फर्कने भन्दै अराजक गतिविधि गरेको भन्दै सरकारले निवास निकाला गर्ने तयारी गरेको हो ।
उनको सुरक्षामा खटिएका प्रहरीलाई फिर्ता बोलाइएको छ भने बालुवाटारस्थित सरकारी निवासबाट पनि हटाउने तयारी भइरहेको छ ।
गृह मन्त्रालयको निर्देशनअनुसार प्रहरीले जबराको व्यक्तिगत सुरक्षामा खटिएका पिएसओ, निवास सुरक्षा तथा स्कर्टिङमा खटिएका सुरक्षाकर्मीलाई आइतबार दिउँसो फिर्ता बोलाइएको हो । उनले प्रयोग गर्ने गाडी पनि खोसिएको छ ।
‘अराजकता मच्चाउन खोजेकाले फिर्ता गरिएको हो,’ गृह मन्त्रालयका एक अधिकारीले भने, ‘निलम्बित प्रधानन्यायाधीश जबरा अहिले अभियुक्त बराबर भएकाले सरकारीनिवासबाट पहिले नै हटाउनुपथ्र्यो भन्ने हाम्रो निष्कर्ष रह्यो, अब हट्न आग्रह गर्ने र नमाने बल प्रयोग गरेर हटाउने निर्णय भएको छ ।’
गत १ फागुनमा महाभियोग दर्ता भएदेखि जबरा निलम्बनमा छन् । तर, सरकारीनिवासमा बसेर सेवा–सुविधा भने प्रयोग गर्दै आएका छन् ।
शनिबार मात्रै संसद्को महाभियोग सिफारिस समितिले जबरामाथि महाभियोग चलाउनुपर्ने निष्कर्षसहित सभामुखलाई प्रतिवेदन बुझाएको थियो ।
प्रहरी लगाएर आफूलाई निवासबाट निस्कन नदिएको भन्ने आरोप जबराले लगाएका थिए ।
नेपाल प्रहरीका निमित्त प्रहरी प्रवक्ता एसएसपी दानबहादुर कार्कीले भने जबरालाई नजरबन्दमा राखेको नभई सुरक्षा दिइएको बताए । सो आरोपको प्रहरीले खण्डन गरेको छ ।