लिम्बूजन्य संस्थाहरुको चेतावनी- ‘मुन्धुमी तथा पवित्र भूमी र मुक्कुमलुङको नाममाथि खेलवाड नगर’

ताप्लेजुङ, ८ असोज । लिम्बू निकट जातिय संस्थाहरुले लिम्बू समुदायको आध्यात्मिक, मुन्धुमी तथा पवित्र भुमी र मुक्कुमलुङ (पाथिभरा)को नाममाथि खेलवाड नगर्न चेतावनी दिएका छन् ।

शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै (याक्थुङ सयङ) सहजीकरण समूह किरात याक्थुङ चुम्लुङ, संघीय समिति र ताप्लेजुङ जिल्ला शाखाका साथै लिम्बुजन्य अन्य संघसंस्थाहरुले उक्त चेतावनी दिएका हुन् ।

उनीहरुले मुक्कुमलुङ लिम्बू समुदायको मुन्धुमी, आध्यात्मिक र पवित्र स्थल भएको दावी गर्दै ती स्थलहरु लिम्बू समुदायको अस्तित्वसंग गासिएको स्थल भएको जनाएको छ ।

ती धार्धिक स्थलहरु लिम्बू समुदायसहित अन्य सबै समुदायको आध्यात्मिक आस्थाको भएकाले ती नामहरुलाई संस्कृतकरण गरि कथित पाथीभरा बनाइयो र यस स्थलमाथि बिकासको नाममा व्यापक अतिक्रमण हुन थालेको संस्थाहरुले विज्ञप्तिमार्फत आरोप लगाएका छन् ।

हाल पाथीभरा महोत्सवको नाममा मौलिक नाम र यसको अस्तित्वलाई नामेट पार्ने काम भईरहेको पनि बिज्ञप्तिमा जनाइएको छ ।

‘बिकासको नाममा होस् या पर्यटन प्रवद्र्धनको नाममा होस् या व्यापार प्रवद्धनको नाममा होस कसैको अस्तित्व, आध्यात्मिक, सांस्कृतिक तथा पवित्र स्थलमाथी अतिक्रमण गर्नु कानूनी, सामाजिक तथा संस्कृतिक हिसावले मिल्दैन,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अतिक्रमण र आक्रमणले समाजमा द्धण्द्ध निम्त्याउछ । यस्तो द्धण्द्ध सिर्जना गर्ने काम सरकारी, उद्योग व्यापार, सेना, प्रहरी, कम्पनी तथा कुनै पनि निकायले गर्न मिल्दैन । यदि द्धण्द्ध निम्त्याउने काम कसैले गर्छ भने त्यसको जिम्मेवारी पनि तिनै निकायहरुले लिनु पर्ने हुन्छ।’

स्थानीय तथा सम्बन्धित समुदायका मानिसहरुसहित समुदायहरुजहिल्यै पनि आफ्नो अस्तित्व रक्षा, आफ्नो आध्यात्मिक, सांस्कृतिक तथा पवित्र स्थल जोगाउन, संरक्षण र सम्बर्धन गर्न लाग्नु पर्नेमा बिकल्प नभएको विज्ञप्तिमा जनाइएको छ ।

जीवनको बलिदान दिएर भए पनि त्यसको संरक्षण, सम्बर्धन र प्रबद्र्धन गर्नु हामी समुदायका मानिसहरुको कर्तव्य भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसअघि आफ्ना पहिचानगत माग तथा दावी पेश गरेका लिम्बू समुदायलाई पाथीभरा म्याराथ तथा पर्यटन महोत्सव नै विथोल्न खोजिएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको थियो ।

जिल्ला प्रशासनले असोज ११ गतेदेखि १३ गतेसम्म पर्यटन वोर्ड, पाथीभरा क्षेत्र विकास समिति, फुङ्लिङ नगरपालिका, पाथीभरा क्षेत्र संरक्षण तथा सम्वद्र्धन बिकास समिति, ताप्लेजुङ उद्योग वाणिज्य संघ र भीमकाली गुल्म ताप्लेजुङको संयुक्त आयोजनामा हुन लागेको हुन लागेको ‘पाथीभरा म्याराथ तथा पर्यटन महोत्सव २०७९’ केही व्यक्तिको समूहले असहयोग गर्ने घोषणा गरेको भन्दै सुरक्षा समितिको ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति निकालेको थियो ।

यस्ताे छ विज्ञप्ति

अपिल तथा अनुरोध

लिम्बु समुदायको आध्यात्मिक, मुन्धुमी तथा पवित्र भुमी र मुक्कुमलुङ नाममाथी खेलवाड नगरौ !
मुक्कुमलुङ लिम्बु समुदायको मुन्धुमी, आध्यात्मिक र पवित्र स्थल हो भन्ने कुरा सबैलाई ज्ञात भएकै कुरा हो । यो लिम्बु समुदायको अस्तित्वसंग गासिएको स्थल र नाम हो । यो लिम्बु समुदाय सहित अन्य सबै समुदायको आध्यात्मिक आस्थाको केन्द्र हो । यो नामलाई संस्कृतकरण गरि कथित पाथीभरा बनाइयो र यस स्थलमाथी बिकासको नाममा व्यापक अतिक्रमण हुन थाल्यो । हाल कथित पाथीभरा महोत्सवको नाममा यसको मौलिक् नाम र यसको अस्तित्वलाई नामेट पार्ने काम भईरहेको छ । बिकासको नाममा होस् या पर्यटन प्रवद्र्धनको नाममा होस् या व्यापार प्रवद्धनको नाममा होस कसैको अस्तित्व, आध्यात्मिक, सांस्कृतिक तथा पवित्र स्थलमाथी अतिक्रमण गर्नु कानूनी, सामाजिक तथा संस्कृतिक हिसावले मिल्दैन । यस्तो अतिक्रमण र आक्रमणले समाजमा द्धण्द्ध निम्त्याउछ । यस्तो द्धण्द्ध सिर्जना गर्ने काम सरकारी, उद्योग व्यापार, सेना, प्रहरी, कम्पनी तथा कुनै पनि निकायले गर्न मिल्दैन । यदि द्धण्द्ध निम्त्याउने काम कसैले गर्छ भने त्यसको जिम्मेवारी पनि तिनै निकायहरुले लिनु पर्ने हुन्छ ।
हामी सम्बन्धित समुदायका मानिसहरु सहित समुदायहरु त जहिल्यै पनि आफ्नो अस्तित्व रक्षा, आफ्नो आध्यात्मिक, सांस्कृतिक तथा पवित्र स्थल जोगाउन, संरक्षण र सम्बर्धन गर्न लाग्नु पर्ने नै हुन्छ त्यस्को हामीसंग बिकल्प छैन । जीवनको बलिदान दिएर भए पनि त्यसको संरक्षण, सम्बर्धन र प्रबद्र्धन गर्नु हामी समुदायका मानिसहरुको कर्तव्य हो । यसैले, यस कथित पाथीभरा महोत्सवमा संलग्न सम्बन्धित सबै निकायहरुलाई त्यस्तो काम नगर्न हामी चेतावनी दिन्छौ ।

आदरणीय समुदाय र समुदायका सदस्यहरु,
समुदायका केही मानिसहरुलाई महोत्सव त हो कुन ठुलो कुरा हो र भन्ने भ्रम रहेको छ । यदि महोत्सव मुक्कुमलुङ महोत्सव भएको भए सह्य हुने थियो । लिम्बु आदिवासी सहित स्थानिय समुदायको अग्रिम जानकारी सहित स्वतन्त्र मन्जुरी (FPIC)नलिई गर्न लागिएको पाथीभरा महोत्सव गर्ने नाममा हाम्रो अस्तित्व, हाम्रो संस्कृति, हाम्रो मुन्धुमी तथा पवित्र भूमीलाई सिध्याउने खेल भईरहेको छ । राज्य सरकारले मिति २०७७ साल माघ २९ गतेका दिन ताप्लेजुङ, पान्थर, ईलाम, झापा, तेह्रथुम, सुन्सरी, धनकुटा, काठमाण्डौ, ललितपुर, भक्तपुर जिल्ला सहित समुदायका १४७ व्यक्तिहरुले मुक्कुमलुङ व्यापारीकरण गरिएको, संस्कृति सम्पदा पवित्र तथा आध्यात्मिक स्थललाई असर पुर्याइरहेको, समुदायको अग्रिम जानकारी सहित स्वतन्त्र मन्जुरी नलिई मनोमौजी काम गरेको बिरुद्धमा सर्वोच्च अदालतमा रिट परी मुद्धा बिचराधिन रहेको अवस्थामा राज्य सरकारले महोत्सवको नाममा सामाजिक सद्भाव बिथोल्दै साम्प्रदायिक नश्लीय काम गरिरहेको छ । यसको साथै स्थानिय सरकार सन्चालन ऐन २०७४ अनुसार स्थानिय लिम्बु समुदायले मुक्कुमलुङ (कथित पाथीभरा) क्षेत्रलाई समुदायको सामुदायिक सम्पतिकोरुपमा अभिलेखीकरण गर्ने प्रकृया पनि अघि बढाई सकिएको छ ।
यस्तो अवस्थामा राज्य प्रशासनले बलजफ्ती गर्नु भनेको लिम्बु आदिवासीमाथीको सांस्कृतिक संहार (Cultural Genocide) गर्ने कार्य हो । यस सांस्कृतिक संहार गर्ने काममा ताप्लेजुङ जिल्लाको प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेल सहित केही स्वार्थी व्यक्तिहरु लागिपरेका छन् । यो सन्दर्भमा २०७७ सालमा नै जिल्ला प्रशासन कार्यालयको रोहबरमा छलफललाई निन्तरता दिने र सबै पक्ष सहमत नभएसम्म कथित पाथीभरासंग सम्बन्धित सबै खाले गतिविधीहरुलाई रोक्ने भन्ने सहमतिको सिडीओ महेश कुमार पोखरेलले उलंघन गर्दै २०७९\०९र०७ मा एक पक्षियरुपमा पेलेर जाने विज्ञप्ती जारी गरेका छन् । यसैले, हाम्रो अस्तित्व रक्षार्थ मुक्कुमलुङको फेदी देखि ताप्लेजुङ फुङलिङ हुदै दोखु, नाङखोल्याङ, थेचम्बु, दोरम्बा, चितक, गोपेटार, फेदेन हुदै झापासम्म असोजको ९ गते विहानदेखि १३ गतेसम्म सामाजिक सद्भाव बिथोल्ने, साम्प्रदायिक नश्लीय काम र सांस्कृतिक संहारको काममा उत्रने जिल्ला प्रशासनको बिरुद्धमा ताप्लेजुङ हुदै मुक्कुमलुङ फेदीसम्म जाने रोडमा निस्कौ । यातायात ठप्प बनाऔ र हाम्रो अजेय एकता प्रर्दशन गरौ ।
लिम्बु थरगत संस्था (याक्थुङ सयङ) सहजीकरण समुह
किरात याक्थुङ चुम्लुङ, संघिय समिति र ताप्लेजुङ जिल्ला शाखा
लिम्बुजन्य अन्य संघ संस्थाहरु