तेह्रथुम, १३ असोज । दसैंलाई लक्षित गरी बर्सेनि तिब्बतबाट भेडा, च्यांग्रा आउँदा स्थानीय खसीबोकाले बजार धान्ने गर्दथ्यो । तर यसपटक भने तिब्बतबाट नआएपछि खसी, बोकाको अभाव देखिएको छ ।
संखुवासभा र ताप्लेजुङको उच्च पहाडी क्षेत्रबाट समेत व्यापारीले यसपटक खसी बोका, भेडा, च्यांग्रा बिक्रीका लागि ल्याएका छैनन् ।
धनकुटा, सिधुवाको साप्ताहिक हटियामा बिक्रीका लागि ल्याएका खसीबोका ।
दसैंका लागि पूर्वी तराई तथा सहर बजारदेखि खसी, बोका किन्न गाउँ पसेका व्यापारी र सर्वसाधारण रित्तो हात फर्किरहेका छन् ।
बुधबार लालीगुराँस नगरपालिकासँग सीमा जोडिएको धनकुटाको सिंधुवा बजारमा लाग्ने साप्ताहिक हटियामा पनि कमै मात्र खसी बोका बिक्रीका लागि राखिएका थिए ।
दिनभर बजार चहार्दा पनि भनेजस्तो खसी नभेटिएपछि इटहरीदेखि खसी किन्न आएका पोस्टराज सुवेदी रित्तै फर्किए ।
‘पहिले पहिलेको दसैंजस्तो यसपटकको रहेन,’ सुवेदीले भने, ‘यो वर्ष त दुःख मात्र पाइयो, खसी पाउन गाह्रो भयो ।’ पहाडका खसीको मासु स्वादिलो हुने भएकाले विगतदेखि नै दसैंमा खसी किन्न पहाडी गाउँघरतिर आउने गरेको उनले सुनाए । भएका खसीबोका पनि किन्न नसक्ने गरी महँगा भएका छन् ।
अघिल्लो वर्षको दसैंमा आफूले वर्षभरि पालेका खसीबोका बिक्री गर्न बजारतर्फ निस्कने किसान यो वर्ष न्यून देखिएका छन् ।
जिल्लाको संक्रान्ति, चुहानडाँडा, म्याङलुङ, वसन्तपुर, लसुने, जिरीखिम्ती, शुक्रबारे लगायतका मुख्य बजारमा खसीबोका बिक्री गर्न आउने किसान देखिएका छैनन् ।
जिल्लाका यी बजारदेखि ग्रामीण क्षेत्रसम्म खसी किन्न आउने ग्राहकको संख्या प्रत्येक दिन बढिरहेको भए पनि खसी बिक्रीका लागि ल्याउने किसानको संख्या भने गत वर्षको तुलनामा एकदमै न्यून देखिएको छ ।
खसी व्यापारी दिनेश कटुवालका अनुसार गाउँमा खसी पालन गर्ने किसानको संख्या घटिरहेकाले पनि अभाव भएको हो । मागको तुलनामा उत्पादन कम भएकाले पनि समस्या भएको व्यापारीको भनाइ छ ।
धनकुटाको भेडेटार घर भएका कटुवाल विगत १५ वर्षदेखि यस क्षेत्रमा आएर खसी बोका खरिद गरी धरान र विराटनगरसम्म लगेर बिक्री गर्दै आइरहेका छन् ।
गाउँमा रहेका सामुदायिक वनमा बस्तु चराउन उपभोक्ता समितिले प्रतिबन्ध लगाएपछि पछिल्ला वर्षहरूमा व्यावसायिक रूपमा खसी, भेडा तथा बाख्रापालन व्यवसाय गिर्दो अवस्थामा रहेको प्रदेश १ कृषि मन्त्रालयका सचिव मेघनाथ तिम्सिनाले बताए ।
सरकारले मासु उत्पादनका लागि बाख्रा र भेडा पालन गर्ने व्यवसायीलाई अनुदान दिएर प्रोत्साहन गरिरहेको छ ।
बाख्रा ब्लक कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ । तर पनि पर्याप्त खसीबोका उत्पादन हुन नसकेको मन्त्रालयले जनाएको छ ।
यो खबर आजको कान्तिपुर दैनिकमा चन्द्र कार्कीले लेखेका छन् ।