तेह्रथुम : दलहरुले उही पुरानै एजेण्डा दोहोर्‍याउँदै, प्राथमिकतामा सडक सञ्जाल नै !

तेह्रथुम, २९ असोज । कांग्रेसका उम्मेदवार सीता गुरुङले आठराई क्षेत्र हुँदै सदरमुकाम म्याङलुङ र छथर क्षेत्रको शुक्रबारे हुँदै म्याङलुङ जोड्ने मुख्य सडक मार्गको स्तरोन्नति गरी सवारी आवागमन सहज बनाउने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग यही जिल्ला भएर निर्माण भइरहेकाले सडक चाँडो बनेमा पूर्वी तराई हुँदै राजधानी काठमाडौंसँगको दूरीसमेत कम हुने आसमा स्थानीय मतदाता छन् ।

संक्रान्तिबाट म्याङलुङ आउने ६७ किलोमिटर सडक बनिसकेको छ । तर बीचका केही स्थानमा पुल निर्माण र सडकको स्तरोन्नति भने बाँकी छ । सडक बनेमा अहिले बारीमै खेर गइरहेको उत्पादनले बजार पाउने फेदाप गाउँपालिका औंसीका युवा सञ्जय मास्केले बताए ।

आर्थिक उपार्जनका आधार खोज्ने र युवालाई गाउँगाउँमा रोजगारी सृजना गराउने आश्वासन पनि उम्मेदवारले बाँडिरहेका छन् ।

‘जिल्लाको समृद्धिका लागि व्यवस्थित सडक सञ्जाल हाम्रो पहिलो मुद्दा हो,’ प्रतिनिधिसभाका लागि एमालेका उम्मेदवार डा। विजय सुब्बाले भने । २०७४ मा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि एमाले र कांग्रेसका उम्मेदवारले यिनै मुद्दालाई जोडतोडका साथ उठाएका थिए ।

दुवै दलका उम्मेदवारले पर्यटनको मुद्दालाई पनि प्राथमिकतामा राखेका छन् । एकै स्थानमा २८ प्रजातीका गुराँस फुल्ने तीनजुरे मिल्के जलजले, दक्षिण एसियाकै अग्लो भनीएको ह्यात्रुङ झरना, तमोर नदीमा र्‍याफ्टिङलगायतका पर्यटकीय संभावना बोकेका क्षेत्रको विकास गरी पर्यटक भित्र्याउने योजना पार्टीको रहेको एमाले पूर्वअध्यक्ष लक्ष्मण तिवारीको भनाइ छ ।

७ दशमलव ५ मेगावाटको खोरुङगा खोला जलविद्युत् आयोजना निर्माण गरेर जिल्लालाई उज्यालो बनाउने काम गरेको एमालेले तमोर जलाशययुक्त आयोजना निर्माण गरी जिल्लाबासीलाई सेयरधनी बनाउने एजेन्डा पनि अघि सारेको छ । चुनावी वाचा, जितेपछि हुँदैन पूरा ।
कांग्रेस र एमालेले स्थानीय उत्पादन अदुवा, अकबरे, दूध, चिया र बन्दाको जिल्लामै प्रशोधन उद्योग स्थापना र भण्डारण स्थल निर्माण गर्ने वाचा दोहोर्‍याएका छन् । प्रशोधन र भण्डारण केन्द्र नहुँदा उत्पादनको राम्रो मूल्य नपाइरहेको किसानको गुनासो छ ।

२०७४ को निर्वाचनमा पनि कांग्रेस र एमाले दुवै दलका उम्मेदवारले यिनै मुद्दालाई प्रमुखताका साथ उठाएर मतदाता समक्ष भोट मागेका थिए । कांग्रेस उम्मेदवारले चुनाव हारे ।

एमालेले जित्यो । तर विकास निर्माणका काम त परको कुरा, विजयी सांसद भवानीप्रसाद खापुङ नै अहिले एमालेसँग छैनन् ।

प्रत्येक चुनावमा जिल्लामा प्रशोधन केन्द्र खोल्ने पार्टीले नीति नै लिएको बताउने गरेका दलले चुनाव पछि यस्ता मुद्दा बिर्सने गरेका छन् ।

यो खबर कान्तिपुर दैनिकमा चन्द्र कार्कीले लेखेका छन् ।