८ मा ७ पालिका जिताएका सभापति जबेगु भन्छन्- ‘गठबन्धनका सबै उम्मेदवार जिताउछु’

पाँचथर, २९ असोज । मुलुक आम निर्वाचनमा होमिदै छ । कुनै ठूलो विपत्ति आइनपरे आगामी मंसिर ४ गते प्रदेश र संघको निर्वाचन हुनेछ ।

खासगरी आगामी यो निर्वाचनमा एमालेसहितका साना दलहरु र नेपाली काँग्रेस र माओवादीसहितका चार दलीय गठबन्धनको प्रतिस्पर्धा हुँदैछ ।

प्रमुख प्रतिपक्षी दलका साथै सत्ता गठबन्धनका दलहरुले आउँदो निर्वाचनका लागि उम्मेदवारहरुको टुङ्गो लगाइसकेका छन् । गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पाँचदलीय गठबन्धनले एमालेसँग प्रतिस्पर्धा गरेको थियो ।

उक्त निर्वाचनमा गठबन्धनले राम्रो परिणामा हासिल गर्यो । यद्यपि सोचेअनुरुपको नतिजा भने नआएको गठबन्धनका दलहरुले आवाज पनि निकाले । स्थानीय चुनावमा मुलुकको पूर्वी पहाडी जिल्ला पाँचथरमा भने पाँच दलीय गठबन्धन उच्चतम हावी भएको पाइएको थियो । यहाँ पाँच दलीय गठबन्धनले ८ पालिका मध्ये ७ पालिका अध्यक्ष प्राप्त गर्यो । जहाँ एक पालिका मात्रै नेकपा एमालेले जित्यो ।

गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसका पाँचथर सभापति रुपनारायण जबेगुको नेतृत्वमा चुनावमा होमिदा उक्त नतिजा प्राप्त भएको हो । यसमा अन्य गठबन्धनका अन्य दलहरुको उल्लेख्य योगदान नरहेको भने होइन । गठबन्धनको संजोजक जबेगु रहेकोले यो उक्त तर्क जिल्लाको राजनीतिमा आउनु पनि अस्वभाविक भने होइन ।

अब प्रदेश र संघको निर्वाचनमा पनि उनै सभापति जबेगुको नेतृत्वमा गठबन्धन चुनावी मैदानमा प्रवेश गर्दै छ । यसै सन्दर्भमा काँग्रेस पाँचथर सभापति रुपनारायण जबेगुसँग साझा चासोका लागि कृष्ण कन्दङ्वाले कुराकानी गर्नु भएको छ ।

स्थानीय तहको निर्वाचनमा पाँचथरका ८ मध्ये ७ स्थानीय तह गठबन्धनले जित्यो, यो कसरी सम्भव भयो ? जसको नेतृत्व तपाईँले गर्नुभएको थियो नी ?

मुलुकमा नेपाली काँग्रेसको नेतृत्वमा गठबन्धनसहित स्थानीय तहको निर्वाचन सम्पन्न भयो । जसमा जिल्लागत तहमा यो मेरो पहिलो कार्यकाल हो । यो निर्वाचन सम्पन्न हुन अगाडी गठबन्धनकै निर्देशनमा थियौँ ।

यसमा हामीलाई चुनौतीहरु धेरै थिए । किनभने लामो समयदेखि नेपाली काँग्रेसमा आस्था र विश्वास लिने साथीहरु वडा सदस्य, अध्यक्ष र मेयरको आकाङ्क्षी अत्यन्तै धेरै हुनुहुन्थ्यो । गठबन्धनका कारण उहाँहरुले आफ्नो चाहना मार्दै गर्दा उहाँहरु धेरै निरास पनि हुनु परेको थियो । तरपनि हामीले केन्द्रको निर्देशन अनुसार जिल्लाका नेताकार्यकर्ताहरुलाई बुझाउदै लग्यौँ । हामीले जिल्लामा गठबन्धनको नम्स बनाउदै गर्दा होटलहरु घेराबन्दीमा थिए ।

गठबन्धनको जिल्ला संयोजक हुँदा जिल्लाका कार्यसमितिको कार्यालयहरु तालाबन्दीसहित म पनि अप्ठ्यारोमा परेँ । यद्यपि हामीले विवेकपूर्ण तरिकाले सम्यम्ता अपनाउँदै सहजतामा रुपान्तरण गर्यौँ । टिकट वितरणका बेला ७ पालिकाको लागि काँग्रेसले नेताहरुलाई र १ मा माओवादीलाई छोड्यौँ ।

हामीले काँग्रेसका नेताहरुलाई टिक दिँदा हिजोको रिसिभी र गुट उपगुटसाथै महाधिवेशनमा भएको तिक्ततालाई वेवास्था गरेर संस्थागत हितबाहेक अरु नसोची टिकट वितरण गर्यो । त्यसकारण हामीले फिदिम नगरको मेयरसहित स्थानीय तहका ६ पालिका हाम्रो नेतृत्वमा छ ।

एक पालिकामा हार्न पुग्नु भयो त्यसको कोरण के होला ?

हामीले गठबन्धन सहित जाँदा पाँचथरका ८ मध्ये एक पालिकामा ४१ मतले मात्रै हारेको हौँ । त्यो हाम्रो आन्तरिक कमजोरीले हो । हामीले आन्तरिक नेतृत्वलाई व्यवस्थापन गर्न सकेनौँ कारण यही हो ।

त्यस्तै हाम्रो हारको अर्को कारण मतदाता शिक्षाको कमी पनि हो । र, जसपालाई पनि हामीले गठबन्धनमा लान सकेनौँ । त्यो पनि हाम्रो कमजोरी हो । हामीले हार व्यहोरेको याङ्वरकमा जसपा गठबन्धनमा सामेल थिएन । यद्यपि हामीले उपाध्यक्ष जितेका छौँ त्यहाँ । र, २५ वर्षपछि नेपाली काँग्रेसले जिल्ला समन्वय समितिको नेतृत्व पाएको छ ।

स्थानीय तहको निर्वाचनमा प्राप्त गरेका गठबन्धनको मत र विपक्षी दल नेकपा एमालेले प्राप्त गरेको मत तुलना गर्दा तपाईँहरु बलियो हुुनुहुन्छ । के स्थानीय तहको जस्तै नतिजा पाउँला गठबन्धनले ? के अपेक्षा गर्नु भएको छ ?
मत परिणाम यस्तै आउँछ भन्ने अहिले नै निश्चित छैन । तरपनि स्थानीय तहको निर्वाचनलाई गहिरिएर हेर्ने हो भने गठबन्धन आबद्ध दलहरुले प्राप्त गरेको मत जिल्लामा विपक्षी एमालेभन्दा बढी देखिन्छ । यो मतान्तर देखिदै गर्दा हिजोको मत परिणाम र प्रदेश–प्रतिनिधिसभाको परिणामा विभिन्न कारणले थोर बहुत अन्तर हुन गएपनि हाम्रा उम्मेदवारहरुले जित्ने निश्चित छ । तर यहाँ गठबन्धनको नम्स अनुसार विगत ०७४ सालको निर्वाचनमा जिल्लोका ‘ख’ क्षेत्रमा एमाले र माओवादी गठबन्धन हुँदा काँग्रेसले एक्ले जिल्लाको ३ निर्वाचन क्षेत्रमा लड्नु परेको थियो ।

त्यो परिणाम हेर्दा केन्द्रमा एमालेले जितेको प्रदेशका ‘क’ नेकपा एकीकृत समाजवादीले जितेको र ‘ख’ मा माओवादीले जितेको अवस्था छ । यसले गर्दा हामीले गठबन्धनलाई सहज रुपमा जिताउन केन्द्र र क्षेत्र ‘क’मा नेकपा एसको मत अलि कम भएकोले त्यो क्षेत्र नेपाली काँग्रेसले पाउनुपर्ने माग हुँदा पनि त्यो प्राप्त गर्न सकेनौँ । तरपनि गठबन्धनमा आबद्ध जुनुसुक पार्टीले यहाँ भाग पाएपनि म गठबन्धनको जिल्ला संयोजक भएको हैसियतले म जिल्लाका गठबन्धनका सबै उम्मेदवारलाई जितान लाग्छु । स्थानीय तहको निर्वाचन मत परिणाम हेर्दा जिताउन सकिन्छ पनि ।

तपाईँहरुले जिल्लामा गठबन्धनबाट भनेजति भाग पाउँनु भएननी, यसले चुनावी मतपरिणाममा कतिको प्रभाव पार्छ ?

म नेपाली काँग्रेस पाँचथरको जिल्ला सभापतिको हैसियतले मैले पनि जिल्लाको दुर्विम्बादेखि फलैँचासम्मको नेता कार्यकर्ताहरुको आवाज, क्षेत्रिय सभापति, पालिका सभापतिहरु र वडा सभापतिहरुको आवाज बोल्ने हो । उहाँहरुको माग अनुसार जाऔँ भन्ने हाम्रो आग्रह हो ।

भनेअनुसार नै टिकट पाए उहाँहरु भोलिका दिनमा स्वतःस्फूर्त रुपमा लागि पर्ने कुरा स्वभावैले हुन्छ । तर गबठन्धनको नीति अनुसार टिकट प्राप्त नभएपनि हामी जिल्लाको काँग्रेसको तर्फबाट म सभापतिको हैसियतको तर्फबाट सारा पार्टीका नेता, कार्यकर्ताहरुमा गठबन्धनका उम्मेदवारहरुलाई जिताउन आग्रह अनुरोध गछौँ । मत परिणाम हामी एक गठबन्धनकै पक्षमा आउनेगरी हामी काम गने छौँ ।

तपाईँले करिब एक दशक यताका आम निर्वाचनमा सांसदको उम्मेदवार पार्टीबाट दावी गर्दै आउनु भएको छ । यो पटक त जिल्ला सभापति नै हुनुुहुन्छ । यो पटक स्वभाविक रुपले फेरि दावेदार हुँदा पनि टिकट पाउनु भएन । कस्तो लागिरहेको छ ?

मैले विगतका निर्वाचनहरुमा पनि संसदको दावी गरेको थिएँ । यो पटक पनि स्वभाविक रुपमा मेरो दावी थियो । कडै रुपमा दावी थियो पनि । म आफै जिम्मेवारीमा पनि छु । काँग्रेसको जिल्ला सभापति आफैँमा पनि एक दावेदार हो ।
अर्को कुरा सभापति भनेको उम्मेदवार मात्रै होइन ।

सबै उम्मेदवारहरुलाई मिलाएर लैजाने अभिभावकत्व बोकेको पद पनि हो । त्यसकारण केन्द्रीय कार्यसमितिले गरेको निर्णयमा म खुशी नै छु । तर नेतृत्वले जित हारका कुरा, योगदानका कुरा, लगानी र त्यागका कुरामा विवेक पुर्याउनु पर्ने थियो । तर गठबन्धनका कारण म उम्मेदवारबाट बञ्चित भएँ । तर मेरो जिम्मेवारी भनेको गठबन्धनलाई जिताउने हो । म नेपाली काँग्रेस जस्तो ठूलो पार्टीको सभापतिको हैसियतले मेरो दलबाट जे निर्देशन र आदेश आउँछ ।

त्यो जिम्मेवारी इमान्दारपूर्वक बफादार भएर वहन गर्न तयार छु । यो जीत गठबन्धनको मात्रै नभएर गठबन्धनसँग जोडिएको छ । त्यसकारण यो हाम्रो प्रतिष्ठासँग जोडिएको छ । मबाट बदमासी हुँदैन ।