प्रचण्डको गुनगान गाउँदै माओवादीको बैठकमा घनश्याम !

काठमाडौं, ३० असोज । स्वतन्त्र उम्मेदवारी दिएका एमाले नेता घनश्याम भूसाल नेकपा माओवादी केन्द्रको कार्यक्रममा सरिक भएका छन् ।

नेकपा एमालेले अन्तिम समयमा आएर टिकटबाट बञ्चित गरेपछि उनी रुपन्देहीबाट स्वतन्त्र उम्मेदवारी दिन बाध्य भएका थिए । आगामी निर्वाचनमा उनले रुपन्देही–१ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्रबाट लड्दैछन् ।

उनी शनिबार रुपन्देहीमा आयोजित माओवादीको विस्तारित बैठकमा सहभागी भएका छन् । बैठकमा सहभागी भुसालले माओवादी र माओवादी अध्यक्ष प्रचण्डको खुलेर प्रशंसा गरेका छन् ।

एमालेले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका घनश्यामलाई सत्तारुढ गठबन्धनले समर्थन गरेको छ ।

गठबन्धनमा सिट बाँडफाँट गर्दा रुपन्देही–१ माओवादीको भागमा गरेको थियो । तर, घनश्यामले स्वतन्त्र उम्मेदवारी दिने भएपछि माओवादीले समर्थन गर्दै उक्त क्षेत्र छोडेको हो।

उनी सहभागी माओवादीको बैठकमा अध्यक्ष प्रचण्डको खुलेर प्रशंसासमेत गर्न भ्याए ।
भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीले असंवैधानिक रुपमा विघटन गरेको प्रतिनिधिसभा पुनःस्थापना गराउने नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’नै रहेको भन्दै प्रशंसा गरेका हुन् ।