०७४ मा तेह्रथुमका सबै क्षेत्रमा मैले नै एमाले जिताएँ, तर सिन्काे भाँचिएन : दुर्गा चापागाईँ

तेह्रथुम, ४ कात्तिक । माओवादी केन्द्रका नेता दुर्गाप्रसाद चापागाईँले जिल्ला र आफ्नो क्षेत्रका पालिकाहरुको समग्र विकासका लागि निर्वाचन आफूले जित्नुपर्ने जिकिर गरेका छन् ।

साझा चासोँसँग कुराकानी गर्दै तेह्रथुममा सत्ता गठबन्धनको तर्फबाट प्रदेश (ख) मा उम्मेदवारी दिएका नेता चापागाईँले युवाहरुको बलमै चुनाव जित्ने दावीसमेत गरेका छन् ।

उनले ५ वर्ष अघि भएको निर्वाचनमा वाम–गठबन्धन गरेर जाँदा चुनावको नेतृत्व आफूले नै गरेको र संघ र दुवै प्रदेशमा एमाले विजयी गरेर पठाएपनि नागरिकको अपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाए ।

‘यसअघिको निर्वाचनमा वाम गठबन्धन भयो । जसको नेतृत्व मैले नै लिएको थिएँ,’ उनले भने, ‘प्रतिनिधि र प्रदेशसभाका दुवै क्षेत्रमा एमालेका साथीहरु विजयी गरायौँ । तर उहाँहरुले जनताको पक्षमा काम गर्न सक्नु भएन।’

हाल तेह्रथुम छिमेकी जिल्लाहरुको तुलनामा पनि धेरै पछि परेको अवस्था दर्शाउँदै उनले आफू यहाँको नेतृत्वमा आए पालिकाहरु व्यवस्थित पार्ने देखि जिल्ला, क्षेत्र र सबै पालिकाको समग्र विकास गर्ने दावी गरे ।

युवा पुस्तालाई नेतृत्व दिए समग्र जिल्लाको विकास गर्न सकिने उनको भनाइ छ । आफू पदीय पोजिशनमै नभएपनि जिल्ला तथा क्षेत्रमा आफ्नो सम्पूर्ण सुत्र र संयन्त्र प्रयोग गरेर विजुली तथा अन्य विकासका कामहरु गर्न सफल भएको चापागाईँले दावी गरे ।

आठराई फेदाप तथा मेन्छ्यायेममा केन्द्रीय विद्युतिय प्रशारण लाईन पुर्याउन र काठका पोल बिस्थापित गर्न आफूले उल्लेख्य योगदान गरेको चापागाईँले जिकिर गरे ।

वर्षमान पुन उर्जामन्त्री रहँदा आफू सचिवालयमा रहेको र त्यो बेलै आफूले उज्यालो तेह्रथुमको आधारणा ल्याएर तेह्रथुममा विद्युतिकरणका लागि योगदान गरेको उनले चर्चा गरेका छन् ।

त्यतिमात्रै नभइ खानेपानी, पहिरो नियन्त्रण र सडकका क्षेत्रमा पनि आफ्नो पहलामा धेरै कामहरु भएको उनको दावी छ ।