तेह्रथुम, ४ कात्तिक । । तेह्रथुममा यसपटक नेकपा एमाले यसपटक उही पुरानै नेताहरु उम्मेदवार बनाएको छ । उता सत्ता गठबन्धले भने नयाँ पुस्ताका युवा उम्मेदवारहरुलाई अघि सारेको छ ।
यसपटकका एमाले उम्मेदवारहरु पटक–पटक जिल्लाको नेतृत्वमा टेष्टेड नेताहरु हुन् । प्रतिनिधिसभाका उम्मेदवार विजय सुब्बा जिल्लाबाट २ पटक प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनी हालका पनि निवर्तमान सांसद हुन् । उनी ०७४ को निर्वाचनमा तेह्रथुमबाट समानुपातिक सांसद बनेका थिए ।
एमालेको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष रहेका सुब्बाको राष्ट्रिय राजनीतिमा राम्रो पकड छ । तर उनले केन्द्रीय राजनीतिमा भएको पकडलाई जिल्लाको विकासमा खर्चिन भने नसकेको आरोप प्रशस्तै लाग्ने गरेको पाइन्छ।
उनी ०४८ र ०५६ मा जिल्लाबाट प्रत्यक्ष निर्वाचित भएका थिए । उनी बीचमा एमाले छोडेर संघीय समाजवादीतिर लागेका थिए । पछि ०७१ मा फेरि उनी एमालेमै फर्किए। उनी उमेरले ६४ वर्ष पुगेका छन् । एमाले विभाजन नभएको भए उनलाई जितका लागि सहज हुनसक्थ्यो तर अघिल्लो निर्वाचनमा एमालेबाट विजयी भवानीप्रसाद खापुङ नै नेकपा एकीकृत समाजवादीमा छन् ।
उनका प्रतिद्वन्द्वीका रुपमा गठबन्धनले नेपाली कांग्रेसकी ४६ वर्षे युवा नेतृ सिता गुरुङलाई चुनावी मैदानमा पठाएको छ । गुरुङ आफूले तेह्रथुमको समग्र विकासमा उल्लेख्य योगदान गरेको दावी गर्छिन् । उनी शेरबहादुर देउवा चौँथो पटक प्रधानमन्त्री हुँदा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री बनेकी थिइन् ।
गुरुङले मध्यपहाडी लोकमार्गलाई जिल्लाका छमध्ये पाँच पालिका भएर निर्माण गर्न मुख्य भूमिका खेलेको दाबी गर्छिन् ।
प्रदेशसभातर्फ
प्रदेशसभा– १ मा पनि सत्ता गठबन्धनले नेपाली काँग्रेका युवा नेतालाई उम्मेदवार बनाएको छ ।
४४ वर्षे सन्तोष सुब्बा यस क्षेत्रको उम्मेदवार छन् । उनी एमालेले ६५ वर्षे किशोरचन्द्र दुलालसँग चुनावी मैदानमा छन् ।
उनीहरबीच बाबु–छोरा पुस्ताको जस्तौ उमेर अन्तर छ । दुलाल तत्कालीन जिल्ला विकास समितिको सभापति हुन् । उनी एमाले प्रदेदेश १ कमिटी सचिवालय सदस्य पनि हुन् ।
उनीसँगै मैदानमा उत्रिएका कांग्रेस नेता सुब्बा भने नयाँ अनुहार हुन् । उनी कांग्रेस महामन्त्री गगनकुमार थापासँग निकट मानिन्छन् । उनी काँग्रे महासमिति सदस्यसमेत हुन् ।
प्रदेशसभा–२ का प्रमुख २ उम्मेदवारको पनि उमेर अन्तर बाबु–छोराकै जस्तै छ ।
नेकपा एमालेले जिल्ला अध्यक्ष कन्दङवालाई उम्मेदवार बनाएको छ उनी उमेरले ६८ वर्ष पुगेका छन् । उता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य दुर्गाप्रसाद चापागाईँलाई उठाएको छ । उनको उमेर जम्मा ४० वर्ष मात्रै हो । कन्दङवा र चापागाईं दुवै एउटै गाउँका छिमेकीसमेत हुन् । कन्दङ्वा एमाले अध्यक्ष केपी शर्मा ओली निकट हुन् भने चापागाइँ वर्षमान पुन निकटका नेता हुन् ।