नैतिकता भए एमालेले मेरो लागि मत मागेर मलाई जिताउन लाग्नुपर्छ : सचिन

तेह्रथुम, ५ कात्तिक । नेकपा माओवादी तेह्रथुमका नेता तथा गठबन्धनका साझा उम्मेदवार दुर्गाप्रसाद चापागाईँले एमालेमा अलिकति नैतिकता भए तेजमान कन्दङ्वाले आफूलाई मत मागिदिएर जिताउनु पर्ने बताएका छन् ।

०७४ सालको निर्वाचनमा वामगठबन्धनलाई जिताउन तेह्रथुमको नेतृत्व आफूले गरेको र त्यो बेला नै कन्दङ्वाले यो पटक आफूलाई जिताउन र अर्को पटक तपाईँका लागि जिताउन मत मागिदिने आश्वसन दिएको पनि खुलासा गरेका छन् ।

माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका चापागाईँ तेह्रथुम प्रदेशसभातर्फका (ख)का गठबन्धनका साझा उम्मेदवार हुन भने कन्दङ्वा (निवर्तमान प्रदेश सांसद) पनि सोही क्षेत्रका एमाले उम्मेदवार हुन् ।

चापागाईँले ०७४ को निर्वाचनमा तेह्रथुमका सबै क्षेत्रमा आफूले नै एमालेलाई जिताएको तर निर्वाचित प्रतिनिधिले जनताको अपेक्षा अनुसार काम गर्न नसकेकेका बताउँदै आएका छन् ।

संयुक्त लोकतान्त्रिक बाम गठबन्धनको घरदैलो कार्यक्रमको जनतासामु उनले भने, ‘ एमालेलाई भोट दिनु भनेको हामि फेरि ५ बर्ष पछि जानु हो, त्यसैले हामीले यो गल्ती पुनः दोहोर्याउनु हुँदैन । एक चोटी गठबन्धनलाइ मौका दिनुहोस् साच्चिकै तपाईं हामिले सोचेको जस्तो हाम्रो तेह्रथुम जिल्लालाई बनाउनेछौँ।’

उनले थप भने, ‘०७४ सालको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा परिचालन समितिको संयोजक भइ मैले तेजमान कन्दङ्वा जिताएको हुँ । त्यो बेला तेजमान कन्दङ्वाले आगामी चुनावमा मेरो लागि भोट माग्छु र जिताउछु भन्नु भएको थियो । नैतिकता र इमान्दारता छ भने उहाँले मेरो लागि भोट मागेर भोट दिएर मलाई जिताउनु पर्छ।’

नेकपा एमालेबाट तेह्रथुमका धेरै मन्त्री भए पनि कुनै काम गर्न नसकेको कारण तेह्रथुम पछि परेको पनि चापागाईँको आरोप छ ।

अहिले गठबन्धनलाई जिताउन अपरिहार्य छ । साथै यो निर्वाचन बाट प्रदेश र केन्द्रमा गठबन्धनको सरकार बन्ने पनि दावी गरे ।

‘तेह्रथुमबाट गठबन्धनका उम्मेदवारहरुको बिजय गरानुहोस् हामी संघ, प्रदेश, स्थानीय सरकार मिलेर त्यो अवसरलाई विकासमा परिणत गरेर समुन्नत तेह्रथुम बनाउने छौँ।’