एमालेसँग सिगौरी खोज्ने गुरुङको उमेदवारी खारेज, विष्णु पौडेलको जित पक्का

काठमाडौं, ५ कात्तिक । सत्तारुढ गठबन्धनले रूपन्देही निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ एक सांसद गुमाउने पक्काजस्तै भएको छ ।

यहाँ सत्ता गठबन्धनबाट उम्मेदवार छैनन् । यसअघि रुपन्देही क्षत्र २ मा नेकपा (एकीकृत समाजवादी)का राजु गुरुङलाई उम्मेदवार बनाएको थियो । तर गुरुङको उम्मेदवारी सर्वोच्चले खारेज गरिदिएको छ ।

गठबन्धनले सिट बाँडफाँड गर्दा रुपन्देही– २ एकीकृत समाजवादीको भागमा परेको थियो ।

तर, गुरुङलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय रूपन्देहीले चेक बाउन्स प्रकरणमा कालोसूचीमा राख्यो त्यसपछि उनको उम्मेदवारी बदर गरेको थियो । त्यसपछि उनी सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

उनको मुद्धामा सर्वोच्च अदालतले उनको उम्मेदवारीलाई सदर नमान्न आदेश दिएको छ ।
‘निवेदक राजु गुरुङले २०७४ सालमा कालो सूचीमा राखिएको कुरालाई लिएर कुनै कानुनी उपचार प्राप्त गरेको भन्ने पनि देखिएन । कालोसूची कायम रहेको भन्ने देखियो, कालोसूचीमा नाम समावेश रहेको सम्बन्धी अयोग्यता निवेदक राजु गुरुङमा कायम रहेको देखिँदा निजले प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा उम्मेदवार हुन पाउने अवस्था देखिएन । कालो सूचीमा नाम कायम रहेका व्यक्तिले उल्लिखित निर्वाचनमा उम्मेदवार हुन नपाउने भएकाले निवेदन माग बमोजिम अन्तरिम आदेश जारी गर्न मिलेन,’ फैसलामा भनिएको छ ।

यो सँगै नेकपा एमालेका उम्मेदवार विष्णु पौडेलको पक्षमा मत परिणाम आउने निश्चित भएको छ । गुरुङलाई पौडेलको मुख्य प्रतिस्पर्धीको रुपमा हेरिएको थियो ।