- कृष्ण कन्दङ्वा
काठमाडौं, १० कात्तिक । तेह्रथुमका वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारहरुले जिल्लाको सडक, पर्यटन, कृषि तथा शिक्षाको विकासलाई प्रमुख एजेण्डाका रुपमा पेश गरेर चुनावी अभियान चलाइरहेका छन ।
हरेक चुनावी कार्यक्रममा उनीहरुले गएको ५ वर्षे कार्यकालमा नेकपा एमालेले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै अबको निर्वाचनमा आफूहरुलाई मत दिन आग्रह गर्ने गरेका छन् ।
मंगलबार तेह्रथुम काठमाडौं सम्पर्क समिति, समन्वय समिति र सम्पर्क मञ्चले आयोजना गरेको एक कार्यक्रममा बोल्दै माओवादी केन्द्रका प्रदेशसभा सदस्य प्रत्यक्षतर्फका उम्मेदवार दुर्गाप्रसाद चापागाईँले आफूहरुले नागरिकहरुलाई ठूला ठूला सपना नदेखाई जनजिविकासँग जोडिएका सुविधामा ध्यान दिने बताए ।
उनले खासगरी जिल्लाको सडक, पर्यटन, कृषि र शिक्षाको सहज उपलब्धतामा आफ्नो ध्यान जाने बताए ।
उनले आगामी निर्वाचन पछि केन्द्र र प्रदेश दुवै सरकार गठबन्धनकै बन्ने जिकिर गर्दै जिल्लामा पनि अधिकांश पालिका गठबन्धनकै रहेकाले विकास गर्न सहज हुने उल्लेख गरे ।
‘विनम्रतापूर्वक हामीले भनेका छौँ । हामीलाई भोट दिनुहोस् । किनभने अहिले तेह्रथुममा जिल्ला समोन्वय समिति हाम्रो एकलौटी छ,’ उनले भने, ‘जिल्लाको अधिकांश वडा र पालिका हाम्रै छ। र, अब आउने संघ र प्रदेश सरकार पनि गठबन्धनकै हुने निश्चित छ।’
उनले थपे, ‘सेट एण्ड सिक्वेन्समा काम गर्न हामीलाई मत दिनुपर्ने हुन्छ।’
चापागाईँले एमालेले पाँच वर्षमा केही उल्लेख्य काम नगरेको पनि आरोप लगाए । एमालेको सरकार रहँदा तेह्रथुमकै नेताहरु पनि केन्द्र सरकारमा रहेको र प्रदेशमा पनि उल्लेख्य प्रतिनिधित्व हुँदा पनि एमालेले जिल्लाको विकास र समृद्धिमा केही गर्न नसकेको भन्दै उनले आक्रोश पोखे ।
‘तेह्रथुममै जन्मिएको एमालेका प्रधानमन्त्री, भानुभक्त ढकाल र शिवमायाँ तुम्वाहाम्फे तेह्रथुमकै सरकारका पावरफुल मन्त्री । त्यही गुटको शेरधन राई मुख्यमन्त्री । त्यही गुटका तेह्रथुमका प्रदेशसभा सदस्य । तर जिल्लाको समृद्धिको सन्दर्भमा उहाँहरुले ५ वर्ष कसरी विताउनुभयो ?,’ उनले प्रश्न गरे ।
उनले अबको ५ वर्ष व्यर्थमा व्यतित नगर्नका लागि गठबन्धनालाई मत दिएर जिताउन अह्वानसमेत गरेका थिए । एमालेलाई मत दिए अबको समयमा ठूलो गल्ती हुने उनले जनाएका छन् ।
अवसर पाएर पनि केही गर्न नसक्ने एमालेलाई अब जिल्ला देखि केन्द्रसम्म प्रतिपक्षी बनाउने चापागाईँले उद्घोष गरे । अब पनि आफूहरुले नजित जिल्लाको विकास नहुने उनको तर्क छ ।
जिल्लाको चौतर्फी बिकास हाम्रो प्रतिबद्धता : सिता गुरुङ
नेपाली काँग्रेस तेह्रथुमकी प्रत्यक्षतर्फकी उम्मेद्वार सिता गुरुङले पनि जिल्लाको चौतर्फी बिकासमा आफूहरु प्रतिबद्ध रहेको उल्लेख गरेकी छन् ।
उनले विगतमा आठराई देखि छथर र उत्तर दक्षिण सडक जोड्ने पहल आफूहरुले गरेको दावीसमेत गरिन् ।
‘पूर्वपश्चिम मोटरबाटो आठराई देखि छथरसम्मको मोटरबाटो व्यवस्थित गर्नका लागि २०६४ सालमा तुलसी सुब्बा प्रत्यक्षतर्फ र म समानुपातिकतर्फ उम्मेदवार थियौँ । हामीले छथर आठराई मोटरबाटो जोड्छौँ भनेर प्रतिबद्धता जाहेर गरेका थियौँ,’ उनले भनिन्, ‘पाँचवर्षम आउँदा हामी सबै पालिकामा मोटरबाटोबाट आउँछौ भनेका थियौँ। त्यही अनुसार अहिले सडक संजाल बनेका छन्।’
गुरुङले सिधुवा, शुक्रबारे, म्याङ्लुङ हुँदै हमरजुङ, फाक्चामारा, सुदाप त्यस्तै सुङ्नाम, सोल्मा पिप्ले म्याङ्लुङसम्मको सडक र माथिबाट पहाडी राजमार्गको अवधारणा ल्याएको दावी गरिन् ।
त्यस्तै जिल्लाको प्रदेश २ क्षेत्रमा जिरिखिम्ति देखि सम्दु मध्यपहाडी सम्दुदेखि संक्रान्ति, चुहानडाँडा त्यस्तै चुहानडाँडाको जीरो देखि थोक्लुङ हुँदै पोक्लाबुङ हुँदै म्याङ्लुङ त्यस्तै आठराई देखि ताप्लेजुङको दोभान सडकलाई समानन्तर रुपले उत्तर दक्षिण जोडेको उल्लेख गरेकी छन् ।
उत्ता जिल्लाको २ क्षेत्रमा पनि शुक्रबारे हुँदै हाक्पारासम्म तमोर करिडोरलाई पनि जोड्नमा आफूहरु सफल भएको बताइन् । त्यस्तै चौकिदेखि म्याङ्लु–लुभुघाट त्यस्तै गुफादेखि श्रीजुङ पौठाक सिम्राहा, थोक्लुदेखि आठराईको इवासम्म सडक संजाल जोडेको बताइन् ।
उनले सडक संजाल बिकासको प्रमुख आधार भएकाले उत्तिसका रुख तथा निगुरो बेचेर भएपनि अहिले तेह्रथुमे जनताले जिविकोपार्जन गर्न सक्ने उनले जनाइन् ।
अहिले सडकका संजाल सबै वडामा जोडिएकाले अब १२ महिनै संचालन गर्न सक्नेगरीको स्तरोन्नतिमा आफूहरुको ध्यान जाने गुरुङले बताइन् । उनले पनि तेह्रथुमको विकासका लागि गठबन्धनलाई मत दिन अपिल गरिन् ।