तेह्रथुम, १९ कात्तिक । नेपाली काँग्रसकी प्रतिनिधिसभा सदस्य उम्मेदवार सिता गुरुङले विगतमा तेह्रथुम पूर्वकै शिक्षितको रुपमा स्थापित भएपनि नेताहरुले त्यो विरासतलाई ढालेको आरोप लगाएकी छिन् ।
एक सञ्चारमाध्यमसँगको कुराकानीमा अहिले जिल्लाको अवस्था गुमनाम नै बनेको औँल्याउँदै उनले आर्थिक र शिक्षा क्षेत्र अस्तव्यस्त रहेको दावी गरिन् ।
जिल्लाको विकासको पूर्वाधारममै नकारात्मक प्रभाव पर्नुमा तत्कालीन निर्वाचित नेताहरुको दोष भएको गुरुङको टिप्पणी छ ।
‘कुनै बेला तेह्रथुम जिल्ला पूर्वकै शिक्षित जिल्लाकोरुपमा परिचित थियो । तर, जुन बेला तेह्रथुमले शिक्षित जिल्लाको परिचय बनाएको थियो । त्यही गतिमा यो जिल्लाको विकास हुन सकेन, त्यसमानेमा यो जिल्लाको तत्कालिन निर्वाचित राजनीतिक नेतृत्व दोषी हो,’ उनले भनेकी छिन्, ‘जसकारण अहिले हाम्रो जिल्ला गुमनाम जस्तै बन्दै गइरहेको अवस्था छ । आर्थिक गतिविधि छैन, शिक्षा क्षेत्र अस्तव्यस्त बनेको छ।’
उनले जिल्लाको जनसंख्या घटेको र मानवबिकास सुचांक घटेकोप्रति पनि दुख व्यक्त गरिन् । अबको निर्वाचनमा आफूलाई तेह्रथुमे जनताले जिताए । जिल्लालाई शिक्षा, राजनीतिक र पर्यटकीय हिसाबले पनि अलग्गै पहिचान दिलाउने उनले प्रण गरिन् ।
‘यहाँ हाँको जनसंख्या घट्दो छ, मानव विकास सूचकांक ओरालो लागेको अवस्था छ । बेरोजगारीको समस्या छ । यी सबै अबको राजनीतिक नेतृत्वका चुनौती हुन्, उनले भनिन् ‘म यो जिल्लालाई विगतमा जस्तो शैक्षिक हिसावलेमात्रै होइन, आर्थिक, सामाजिक, पर्या–पर्यटन र राजनीतिक हिसावले समेत अलग्गै पहिचान भएको जिल्लाकोरुपमा चिनाउन चाहान्छु।’
साथै बाँध निर्माण गरेर ७६२ मेघावाटको तमोर जलाशययुक्त आयोजना निर्माण गर्ने योजनाको पनि थालनी गर्ने बताइन् । उक्त योजनालाइै छिटोभन्दा छिटो निर्माण सम्पन्न गरेर जिल्लाको मुहार फेर्ने उनको भनाइ छ ।