एमाले कार्यकर्तालाई गठबन्धनले प्रचारप्रसारमा रोक लगाएपछि दार्चुला दुई समूहबीच झडप

दार्चुला, २५ कात्तिक । दार्चुलामा एमाले र गठबन्धनका कार्यकर्ताहरुबीच झडप भएको छ । उनीहरुबीच चुनावी प्रचार प्रसारका क्रममा झडप भएको हो ।

झडपमा परि दुवै पक्षका ४ जना घाइते भएका छन् । जिल्लाको अपिहिमाल गाउँपालिका–५ ओखलमा चुनावी प्रचारप्रसारका क्रममा उनीहरुबीच झडप भएको प्रहरीले जनाएको छ ।

एमालेका कार्यकर्ताहरुलाई गठबन्धनका कार्यकर्ताहरुले प्रचार प्रसारका लागि गाउँ प्रवेश गर्न नै रोक लगाएपछि विवाद उत्पन्न भएको थियो । एमालेका प्रदेश सभा क्षेत्र नम्बर–२ का उम्मेदवार रामदत्त जोशीको टोलीलाई गठबन्धनका कार्यकर्ताले आफ्नो क्षेत्रमा प्रचार गर्न अवरोध गरेपछि झडप भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

झडपमा परि गठबन्धनका कार्यकर्ता अपिहिमाल गाउँपालिका–६ का जहेन्द्र धामी, जगत धामी र एमालेका कार्यकर्ता मार्मा गाउँपालिका–३ का वीरेन्द्र विष्ट र शैल्यशिखर नगरपालिका–९ का सुरेश बादी घाइते भएका प्रहरीले जनाएको छ ।

उनीहरुको हाल उपचार भइरहेको प्रहरीले जनाएको छ ।