निर्वाचन संघारमै आठराई एमालेमा फाटो, सचिवबाट कन्दङ्वाले दिए राजीनामा

तेह्रथुम, २६ कात्तिक । आम निर्वाचनकै मुखमा नेकपा एमाले आठराईमा फाटो आएको छ । यही मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदै छ । तर नेकपा एमाले आठराई सचिव उमेश कन्दङवाले भने पदबाट राजीनामा दिएका छन् ।

शुक्रबार फेसबुकमा पोस्ट सार्वजनिक गर्दै कन्दङवाले नेकपा एमाले आठराईको सचिवबाट राजीनामा दिएको जानकारी गराएका हुन् ।

उनले कार्तिक २४ गते सम्बन्धित कमिटीमा लिखित जानकारी गराई पदको धनुकाण बिसाएको जनाएका छन् ।

पार्टीले निर्वाचनको समयमा आफूलाई बेवास्ता गरि कुनै बैठकमा नबोलाएको र आवश्यकता महसुस नगरेकाले जिम्मेवारीको भारी बिसाएको कन्दङ्वाले उल्लेख गरेका छन् ।

नेकपा एमाले तेह्रथुमबाट प्रदेशसभाका लागि निवर्तमान प्रदेशसभा सांसद तेजमान कन्दङ्वालाई टिकट दिएको छ । त्यस्तै प्रतिनिधिसभा सदस्यका लागि डा. विजय सुब्बालाई टिकट दिइएको छ ।

कन्दङ्वा लामो समयदेखि एमालेबाट राजनीति गर्ने आठराईकै जुझारु युवा नेतामा पर्दछन् ।

उनको यो राजीनामाले तेह्रथुम एमालेमै तरङ्ग पैदा भएको छ ।