अबको प्रधानमन्त्री को ? गठबन्धनमा ६ आकांक्षी, एमालेमा सर्वसम्मत ओली !

काठमाडाैँ । आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसको नेतृत्वमा रहेको सत्तारूढ गठबन्धनले जितेमा भावी प्रधानमन्त्री को हुने भन्नेमा अन्योल छ । यद्यपि, सो गठबन्धनले जितेमा कांग्रेस सभापति शेरबहादुर देउवा नै पुनः प्रधानमन्त्री हुने अनुमान गरिएको छ ।

आगामी ४ मंसिरमा हुने आमनिर्वाचनपछि को प्रधानमन्त्री बन्ला भन्ने सर्वत्र जिज्ञासा बढिरहेको अवस्थामा सत्तारूढ गठबन्धनले प्रधानमन्त्रीको निर्विकल्प उम्मेदवार छान्न सकेको छैन ।

सत्तारूढ दलभित्रै प्रधानमन्त्रीका रूपमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, पूर्व महामन्त्री शशांक कोइराला, कांग्रेस नेता शेखर कोइराला प्रधानमन्त्रीको दाबेदारका रूपमा देखिएका छन् । यस्तै, गठबन्धनको दोस्रो ठुलो दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि चुनावपछिको प्रधानमन्त्रीको दाबेदारका रूपमा रहेका छन् ।

सामान्यतया विगतका अनुभव हेर्ने हो भने आमनिर्वाचन हुनुअघि नै दलहरूले भावी प्रधानमन्त्रीका रूपमा आफ्नो नेतृत्वलाई अघि सार्ने गरेका छन् । तर यो आम निर्वाचनमा भने सत्ता गठबन्धनले प्रधानमन्त्रीको उम्मेदवार अघि सार्न सकेको छैन । सत्ता गठबनधनको बहुमत आएमा माथि उल्लेख गरिएका ६ जनाबाटै प्रधानमन्त्री चुनिने छन् ।

यदी गठबन्धन भित्र असहमति भएको अवस्था र गठबन्धन टुटेमा केपी एमाले अध्यक्ष केपी शर्मा ओली पनि प्रधानमन्त्रीका विकल्प हुन सक्छन् ।

काँग्रेस एक्लैको बहुमत नआउने र साना दलहरुसँगको समर्थनमा काँग्रेसको सरकार नबन्ने स्थिति र माओवादी गठबन्धनबाट बाहिरिएमा पुन एमाले र माओवादीको सरकार बन्ने संभावना पनि हुनसक्छ । तर यो संभावना न्यून छ ।

संसद विघटनको कुकर्मलाई एमालेले गल्ती अनुभूत नगरेसम्म माओवादीले एमालेसँगको एकता सम्भव नरहेको जनाउदै आएको छ ।