पाँचथर, २७ कात्तिक । नेकपा एमाले पाँचथरका प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री वसन्तकुमार नेम्वाङले गठबन्धनबिरुद्ध आफू ३ हजार मतान्तरले विजयी हुने प्रक्षेपण गरेका छन् ।
जिल्लाको चुनावी कार्यक्रमलाई सम्बोधन गदै नेम्वाङले आफूलाई विगतमा गरेको कामको मूल्याङ्कन गर्दै पाचथरे जनताले जिताउनेमा आफू ढुक्क रहेको जिकिर गरे ।
पाँचथर एकमात्रै निर्वाचन क्षेत्र रहेको छ । जसमा एमालेबाट पूर्वमन्त्री बसन्तकुमार नेम्बाङले प्रत्यक्षतर्फको उम्मेदवारी दिएका छन् ।
उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बे रहेका छन् ।
निर्वाचनको अन्तिम तयारीमा जुटिरहेका नेम्वाङले आठ वटा पालिका रहेको पाँचथरका अधिकांश ठाउँमा आफू पुगिसकेको बताए ।
‘पहाडी क्षेत्र र भौगोलिक विकटता रहेको पाँचथर जिल्लामा घरघरै पुग्न त उनलाई कठिन नै हुन्छ । त्यो पनि निर्वाचनको मुखमै मात्र भोट माग्न जाने चलनले पनि यो सम्भव छैन । तर मुख्यमुख्य ठाउँमा पुगेर मतदाता फकाउने, पार्टी प्रवेश गराउने, आमसभा गर्ने, आफ्ना काम र आगामी योजना सुनाउने लगायतको काम एकसरो सकिएको छ,’ उनले भने ।
अब महत्वपूर्ण र आवश्यक ठाउँमा पुनः दोहोर्याएर आफू जाने तयारीमा रहेको उनले बताए ।
‘गाउँगाउँ पुग्दा म र एमालेप्रति मतदाताहरु सकारात्मक र उत्साहित छन् । मतदाताको खासै गुनासो पनि पो सुन्न परेन,’ उनले भने, ‘सबै जना पोजेटिभ हुनुहुन्छ, सबैले भोट त सूर्यमै हाल्छौं भन्नु भएको छ।’
उनले थपे, ‘म ३ हजार मतान्तरले जित्दैछु । सबै पालिका र वडाको चुनावी भ्रमणपछि आइतबार फिदिम आइपुगेका छु । सबै तिर एमाले र मप्रति राम्रो लहर देखिएको छ । त्यो जनविश्वास मंसिर ४ गते देखिनेछ ।’